चितवन – भरतपुर भ्रमण, २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरुका विदेशी आफन्तलाई निमन्त्रणा गर्न लागिएको हो ।
भ्रमण वर्ष, २०२४ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सोम सापकोटाका अनुसार हालसम्म ५२ देशका चितवनवासीसँग प्रतिनिधिमूलक रुपमा सम्पर्क भइसकेको छ । गैरआवासीय नेपाली सङ्घका प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहनुभएका सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वयको काम गरिरहनुभएको छ ।

यसका लागि ‘साथीलाई घर पठाऔँ (सेन्ड होम अ फ्रेण्ड)’ नारा दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार सुरु गरिएको छ । सापकोटाका अनुसार विभिन्न देशमा नेपालीले सञ्चालन गरेका होटल, रेष्टुराँ, ग्रोसरीलगायतमा ‘भिजिट भरतपुर’ को ब्रोसर, पोष्टरलगायतका सामग्री राखिँदै छ । ती देशमा स्थानीय प्रतिनिधिसँग समन्वय गरी भ्रमणको निम्तो दिइँदै छ ।

विश्वभर रहेका चितवनवासीकाबीचमा समन्वय गरेर सन् २०२४ मा परिवारसहित आफ्नो घर फर्किन र सँगै काम गर्ने एवं चिनजान भएका त्यहाँका साथीभाइलाई यहाँ ल्याउन आग्रह गरिएको छ ।
सापकोटाले माल्टा, जापान र बेलायतका स्थानीय सरकारका प्रमुखलाई निमन्त्रण गरिसकिएको छ । अन्य देशमा निम्तो गर्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार र पर्यटन बोर्डले विदेशमा आयोजना गर्ने कार्यक्रममा भरतपुर भ्रमणको प्रचारसमेत गर्ने कार्यक्रम राखिएको छ ।

चितवनवासी भएका देशमा राजदूतावासमा निम्ता दिनका लागि छोटा भिडियो, फोटोमार्फत प्रचार गरिँदै छ । विश्वका ७७ देशमा चितवनवासी भएको भन्दै उहाँले हालसम्म ५२ देशका चितवनवासीसँग सम्पर्क गरिएको र बाँकी देशमा सम्पर्कको क्रममा रहेको बताउनुभयो । यकिन तथ्याङ्क नभए पनि पाँच लाख हाराहारी चितवनवासी विदेशका विभिन्न देशमा रहेको अनुमान छ ।
भ्रमण वर्षको अवसरमा दुई लाखभन्दा बढी विदेशीलाई चितवन भित्र्याउने लक्ष्य लिइएको छ । सापकोटाका अनुसार गैरआवासीय नेपाली सङ्घको ९० देशमा समिति छ । विश्वका एक सय १८ देशमा नेपाली रहेको उहाँको भनाइ छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरुपमा मनाउने बताउनुभयो । छिमेकी देश भारत र चीनसँगै अन्य देशमा समेत व्यापकरुपमा प्रचारप्रसार गरी चितवन पर्यटक भित्र्याउने उहाँको भनाइ छ ।

विभिन्न समितिमार्फत् काम अघि बढिरहेको उहाँको भनाइ छ । भ्रमण वर्षको अवसरमा सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोधसमेत गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।देशकै मध्यभागमा रहेको पर्यटकीय दृष्टिले महत्वपूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको हो । भ्रमण वर्षमा दुई लाख विदेशी र सात लाख स्वदेशी पर्यटक भित्र्याउन लागिएको उहाँको भनाइ छ ।

नेपाल र विदेशमा फरक–फरक समिति बनाएर काम अघि बढाइएको दाहालले जानकारी दिनुभयो । भ्रमण वर्षअघि नै भौतिक पूर्वाधारलगायतका काम यथाशीघ्र सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाइएको छ । भरतपुर महानगरलाई हरियाली बनाउन महानगरले बजेट विनियोजन गरी छिट्टै काम अघि बढाउँदै छ । महानगरभित्र ३० भन्दा बढी महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको भन्दै उहाँले ती गन्तव्यको प्रचारप्रसार गरी पर्यटकलाई घुमाइने बताउनुभयो ।
महानगरपालिकासँगै चितवन राष्ट्रिय निकुञ्ज जोडिएको छ । जुन विश्वमा परिचित छ । भरतपुर भ्रमण वर्षले भरतपुर मात्रै नभएर सिङ्गो चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दाहालको विश्वास छ ।





















