चितवन । जापानमा चर्चित रहेको याप्पारी स्टेक हाउसको शाखा चितवनमा खुलेको छ । भरतपुर–१० स्थित स्याउली–बजारमा रेस्टुरेन्ट सञ्चालनमा आएको हो । ढुङ्गामा मासु पकाएर खान मिल्ने यस रेस्टुरेन्ट ९ वर्ष जापानमा काम गरेका भरतपुर महानगर–पालिका–१४, शिवनगरका युवा कृष्ण पौडेलले सञ्चालनमा ल्याएका हुन् ।
जापानमा सन् २०१५ मा सुरू भएको यस रेस्टुरेन्टको १२० वटा शाखा सोही देशमा रहेको छ । जापानबाहिर पहिलोपटक नेपालको भरतपुरमा फ्रेन्चाइज लिई रेस्टुरेन्ट सञ्चालनमा ल्याएको याप्पारी स्टेक हाउसका प्रमुख सञ्चालक योसिमोतो दाइजोले बताए ।
‘ढुङ्गामा मासु पकाएर खुवाउने हो, जापानमा यसको उच्च माग हुने गरेको छ’, दाइजोले भने, ‘जापान बाहिर मैले शाखा विस्तारका लागि नेपाल रोजेको छु ।’


‘आधा आधी मासु पाकेपछि ग्राहकलाई ढुङ्गासहित पस्किने र ग्राहकले आफ्नो चाहनाअनुसार आफैँ पकाई खान पाउने छन्’, सञ्चालक कृष्ण पौडेलले भने । पौडेलका अनुसार ‘ढुङ्गा करिब १ घन्टा तातो रहन्छ, जहाँ ग्राहकले आनन्दले पकाएर खान सक्छन्’, जापानमा सन् २०१५ देखि नै आफू याप्पारी रेस्टुरेन्टमा आबद्ध भएको र मुख्य सञ्चालकको विश्वास जितेर नेपालमा आफूले यो सेवा दिन पाउँदा खुसी रहेको सञ्चालक पौडेल बताउँछन् ।
चिकेन, मटन र पोर्कको मासु पाइने याप्पारीमा सयभन्दा बढी नेपालीे जापानमा कार्यरत छन् । यसपछि याप्पारीको शाखा अस्टेलियामा खुल्ने प्रमुख दाइजोले बताए ।
‘यही रेस्टुरेन्टमा मैले जापानमा सय जना नेपालीलाई रोजगार दिएको छु’, प्रमुख सञ्चालक दाइजोले भने, ‘जापानमा सिकेको सीपले उनीहरुले नेपाल फर्केपछि केही गरुन् भन्ने मेरो चाहना छ ।’ नेपालमा सिकेर आउनेहरुले पनि जापानमा सजिलै रेस्टुरेन्टमा काम गर्न सक्ने प्रमुख दाइजोले बताए ।
































