काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि धरौटीमा छुटेका एक व्यक्तिलाई तत्कालै प्रहरीले पक्राउ गरेको छ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार हिरासतमा लिएको हो।
नक्कली शरणार्थी प्रकरणका ३० जना अभियुक्तमध्ये उनी पनि एक थिए। उनलाई पक्राउ गरिएपछि जिल्ला अदलत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले १५ लाख धरौटी मागेको थियो। उक्त धरौटी रकम बुझाएर छुटेका तुलाधर बालुवाटारको ललिता निवास प्रकरणमा फेरि हिरासत पुगेका हुन्।
उनीमाथि सीआईबीले ललिता निवासको २ रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लगाएको छ।
यस अघि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १९ मध्ये १७ जना पुर्पक्षका लागि थुनामा छन्। ललितपुरकी लक्ष्मी महर्जनसहित २ जना धरौटीमा छुटेका थिए।





















