काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन आज। नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी शुक्रबार २१०औँ भानुजयन्ती मनाइँदै छ।
आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको थियो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए।
भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।
भानुजयन्तीको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन्। उनको निधन १९२५ मा भएको थियो।
भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले आज सार्वजनिक बिदा समेत दिएको छ।





















