गोरखा – शिक्षक बिनोद पाण्डेलाई गोरखा नगरपालिका–१० छेवेटारस्थित तारा माध्यमिक बिद्यालयमै हाजिर गराई कामकाजमा लगाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
असार २१ गते न्यायाधीश कुमार चुडालको एकल इजलासले निवदेनको अन्तिम टुंगो नलागेसम्म पाण्डेलाई अर्काे बिद्यालयमा हाजिर हुन नपठाउन अन्तरिम आदेश दिएको हो ।
गलत आचरणको कारण देखाउदै तारा माविमा अध्यापन गराउँदै आएका पाण्डे सहित अर्का शिक्षक शिवराज पन्तलाई अन्यत्र सरुवा गराउन बिद्यालय एवं अभिभावकले माग गर्दै आएका थिए । पठनपाठन नै प्रभावित हुन थालेपछि नगर शिक्षा समिति बैठकले पाण्डेलाई गोरखा नगरपालिका वडा नम्वर १ बन्दीचौरस्थित जनज्योती मावि र पन्तलाई वडा नम्वर १३ को रामशाह माविमा कामकाजका लागी खटाउने निर्णय गरेको थियो ।
निर्णयको बिरुद्ध शिक्षक पाण्डेले सर्वाेच्च अदालतमा निवदेन दिएका थिए । सोही निवेदन उपर असार २१ गते भएको इजलासले पाण्डेलाई यसअघि कार्यरत रहेकै बिद्यालयमा हाजिर गराइ कामकाजमा लगाउन अन्तरिम आदेश दिएको हो ।
स्थानीय सरकार संचालन ऐन २०७४ मा नगरपालिकालाई शिक्षकको काज सरुवा गर्ने अधिकार नभएको भन्दै निवेदनको अन्तिम टुंङ्गो नलागेसम्म पाण्डेलाई अर्काे बिद्यालयमा हाजिर हुन नपठाउन अदालतको आदेश छ । पाण्डे निमावि तृतीय श्रेणीका स्थायी शिक्षक हुन् ।





















