चितवन – संघीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा डा. दीपेन्द्र न्यौपाने चयन भएका छन् ।
शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभा एवं नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनबाट केही पदाधिकारी सर्वसम्मत र केही पदाधिकारी निर्वाचन प्रक्रियाबाट चयन गरिएको थियो ।

अध्यक्षमा डा न्यौपानेले ११४ मत ल्याएर चयन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शिवप्रसाद बसेलले ३८ मत मात्र प्राप्त गरे । बरिष्ठ उपाध्यक्षमा इरिना प्रधान निर्विरोध निर्वाचित भएकी थिइन् भने उपाध्यक्षमा चुनावी प्रक्रियाबाट शारदा खनाल विजयी भइन् । उनले प्रतिस्पर्धी प्रभात पौडेललाई पराजित गरेकी थिइन् ।

त्यसैगरी तीन जनाले प्रतिस्पर्धा गरेको सचिवमा सुदीप पाण्डेले उत्तम पौडेल र तुलसी थापालाई पछाडि हराएर विजयी भए । आशिष पौडेललाई हराउँदै कोषाध्यक्षमा प्रभा गुरुङ विजयी भएकी थिइन् ।
समितिको सदस्यहरुमा रोशन बस्नेत, सजिना श्रेष्ठ, उषा खनाल देवकोटा, ज्ञानबहादुर भण्डारी र मञ्जु डाँगी निर्विरोध चयन भएका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले भने, ‘अस्पतालको सेवासुविधा चुस्तदुरुस्त बनाउन सबै क्रियाशील हुनुपर्छ ।’ उनले अगाडि भने, ‘हाम्रो ध्येय बिरामीलाई सकेसम्म सेवा पु¥याउन सकियोस् भन्ने हुनुपर्छ ।’
अस्पतालका प्रमुख मेसु प्राडा कृष्णप्रसाद पौडेलले आफू कर्मचारी व्यवस्थापनमा निरन्तर लागेको चर्चा गर्दै बिरामीले सेवा पाउने विषयमा आफू कहिल्यै पछाडि नपरेको बताए । उनले अन्य सरकारी अस्पतालको तुलनामा भरतपुर अस्पताल सरसफाई र सेवाका हिसाबले अघि रहेको जिकिर गरे ।

कृष्णप्रसाद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा अस्पतालका प्रमुख मेसु प्रा.डा. कृष्णप्रसाद पौडेल, नर्सिङ निरीक्षक डा. रीना श्रेष्ठ, प्रवक्ता डा. गोविन्द कँडेल, लेखा अधिकृत प्रमोद पोखरेल, म्यानेजर डा. विज्ञान पौडेललगायतले बोलेका थिए ।
यसैगरी शाखा अधिकृत भगीरथ रेग्मी, पूर्व अध्यक्षहरु हिरामान महर्जन, इश्वरी खनाल, लक्ष्मी सुवेदी, चन्द्रमणि बस्याल, नर्सिङ कोअर्डिनेटर मीना भुषाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।






















