काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण नभई मुलुकमा राजनीतिक अस्थिरता नआउने बताएका छन्।
एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुकको भविष्यको लागि धेरै राजनीतिक दल नभई बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताए।
उनले भने, ‘मैले भन्ने गरेको छु-जति धेरै राजनीतिक दलहरू, त्यति धेरै नीतिगत विचलन। जति धेरै राजनीतिक दलहरू, त्यति धेरै राजनीतिक अस्थिरता। जति धेरै राजनीतिक दलहरू, त्यति धेरै वैदेशिक चलखेल। जति धेरै राजनीतिक दलहरू, राष्ट्रको भविष्य अँध्यारो हुन्छ। त्यस अर्थमा धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दलहरूतर्फ अब समाजलाई डोहोर्याउन जरुरी छ।’
महासचिव पोखरेलले नेपाली समाजमा राजनीतिको धुब्रिकरण हुन नसकेका कारण कमजोर शक्तिले शासन गर्ने अवस्था निर्माण भएको बताए। उनले मुलुकलाई यस अवस्थाबाट बाहिर निकाल्न आवश्यक रहेको बताए। उनले भने, ‘नेपाली समाजमा राजनीतिको धुब्रिकरण हुन सकेन।
बलियो राजनीतिक दलहरू, जो राष्ट्रका लागि आवश्यक छन्, त्यस आधारमा उनीहरू बलिया हुन सकेनन्। यो मान्यताको आधारमा कमजोर शक्तिले शासन गर्ने र हरदम सम्झौता गर्ने, नीतिगत सम्झौता गर्ने जुन प्रकारको अवस्था छ। यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ।’
एमाले मुलुकमा बलियो राजनीतिक दल निर्माणका लागिपरेको बताएका छन्। चुनाव लगत्तै एमालेले चलाएको मिशन ग्रासरुट अभियान बलियो राष्ट्रिय शक्ति निर्माणका लागि भएको बताए। राष्ट्रको भविष्य निर्माणमा एमालेको चिन्ता रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताए। बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुक बनाउन सकिने निष्कर्षसहित एमाले सो काममा लागि परेको बताए।
‘अहिले हाम्रा लागि सत्ता प्रधान होइन। हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो। अब यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन,’ उनले भने, ‘बलियो राष्ट्रिय शक्तिको रुपमा नेकपा एमालेको विकास अबको हाम्रो संकल्प हो भन्ने मान्यताको आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौं।
र, त्यही मिसन ग्रासरुट अभियानको जगमा यति बेला नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्पका साथ नयाँ योजना, नयाँ संकल्पका साथ अगाडि बढ्न खोजिरहेको कुरा म तपाईंहरुको बीचमा राख्न चाहन्छु।’





















