काठमाडौं – भ्रष्टाचार र वेथितिविरुद्ध आक्रमक बनेको प्रचण्ड सरकारले सक्रियता बढाएपछि भ्रष्टाचारीहरु धमाधम समातिन थालेका छन् ।
भ्रष्टाचार काण्डमा ‘आफ्नो र पराइ’ भन्ने हुँदैन भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई कडा निर्देशन दिइसकेका छन् । यस्तैमा बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा पाँच जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, युवराज भुसाल, छविराज पन्त, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् ।
ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार ललिता निवास प्रकरणमा १७ पूर्वसहसचिवसहित ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति लिइएको छ । तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चारवटा मुद्दामा अनुसन्धान गरिरहेको छ । ६३ ताका पशुपति टिकिन्छा गुठीका नाममा जग्गा लैजान गरिएका निर्णय तथा टिप्पणी आदेश सदर गरेको कसुरमा पूर्वसचिव भुसाल तानिएका हुन् । पन्त र भुसाल पूर्वभूमिसुधार सचिव हुन् ।
भुसाल राष्ट्रपति रामचन्द्र पौडेलका सम्धी हुन् । सचिवबाट अवकाश पाएलगत्तै भुसाललाई पौडेलले विभिन्न सरकारी निकायमा नियुक्ति दिलाएका थिए ।





















