चितवन : भरतपुर महानगरपालिकाले आगामी चार वर्षभित्र सिङ्गोे महानगरपालिकालाई बालमैत्री महानगरको रुपमा घोषणा गर्ने लक्ष्यअनुसार धमाधम केही वडाहरुलाइ बालमैत्री वडा घोषणा गरिरहेको छ ।
आर्थिक वर्ष २०८३/०८४ सम्ममा महानगरका २९ वटै वडालाई बालमैत्री बनाउने गरी महानगरपालिका तयारीमा जुटिसकेको छ । यसका लागि महानगरपालिकाले २६ बुँदे घोषणापत्र समेत जारी गरिसकेको छ ।
यसै क्रममा महानगरले बुधबार पनि निकै तामझामका साथ वडा नं २३ लाई तेस्रो बालमैत्री वडाको रुपमा घोषणा गरेको छ । आशा अनाथालय नेपालको आर्थिक सहयोगमा वडा न २३ लाई बालमैत्री वडाको रुपमा घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय बाल अधिकार समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख चित्रसेन अधिकारीले एक भव्य कार्यक्रमका बीच वडा नं २३ लाई तेस्रो बालमैत्री वडाको रुपमा घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख अधिकारीले ‘हाम्रो भरतपुर , राम्रो भरतपुर’ बनाउने उद्देश्यले महानगरका सबै वडाहरु बालमैत्री वडाको रुपमा घोषणा गरिँदै जाने उल्लेख गरे । अब एकपछि अर्को गर्दै क्रमशः महानगरका सबै वडा विस्तारै बालमैत्री वडाको रुपमा घोषणा हुने छन् उनले भने, अहिले भरतपुर महानगरपालिकाले एक दुईवटा वडालाइ बालमैत्री वडाको रुपमा घोषणा गरिरहेको छ अब छिट्टै नै २९ वटै वडालाई बालमैत्री वडाको रुपमा घोषणा गर्ने गरी महानगर अगाडि बढेको छ, अधिकारीले भने । उनले भने– ‘हामी हाम्रो महानगरलाइ सुन्दर, शान्त, भयरहित साथै बालमैत्री महानगरको रुपमा हेर्न चाहन्छौं ।’
भरतपुर महानगरपालिका बागमती प्रदेशकै सम्भवतः पहिलो बालमैत्री महानगरको रुपमा घोषणा हुनेछ नगर उपप्रमुख अधिकारीले भने, ‘घोषणासँगै हाम्रा सामु थप चुनौतीहरु पनि थपिएको छ’, ‘घोषणा गर्नु महत्वपूर्ण पक्ष होइन त्यसपछिको व्यवस्थापन पक्ष अझ महत्वपूर्ण र अर्थपूर्ण रहन्छ ।’
बालमैत्री वडा घोषणा कार्यक्रम हाम्रो अभियान हो वडा अध्यक्ष दीपक दवाडीले भने, यो अभियानमा तपाइँ हामी सबै जुट्न जरुरी छ । सबै जनप्रतिनिधि र आमनागरिकले यस अभियानलाई आफ्नै सोचेर काम नगरेसम्म अभियानले पूर्णता नपाउने पनि अध्यक्ष दवाडीको जिकिर थियो । वडा नं २३ मा हाल दुई हजार ५ सय ५६ जना बालबालिकाहरु रहेका छन् । यसैबीच भरतपुर महानगरपालिकाले असार २२ गते शुक्रबार एभरेष्ट लर्निङ्ग एकेडेमीको आर्थिक सहयोगमा वडा नं २१ लाई पनि बालमैत्री वडाको रुपमा घोषणा गर्ने तयारी गरेको छ ।
यस अघि भरतपुर महानगरपालिकाले वडा न १३ लाई दोस्रो बालमैत्री वडाको रुपमा घोषणा गरिसकेको छ । भरतपुर महानगरपालिकाको समन्वय तथा हिमालयन लाइफको आर्थिक सहयोगमा महानगरपालिकाको वडा नं १३ लाई दोस्रो बालमैत्री वडाको रुपमा घोषणा गरिएको हो । त्यस्तै २०७६ साल असार २५ गते वडा नम्बर १४ लाई पहिलो बालमैत्री वडाको रुपमा घोषणा गरिएको थियोे । त्यस्तै साबिक भरतपुर उपमहानगरपालिका हुँदा वडा नम्बर ९ लाई बालश्रममुक्त वडाको रुपमा घोषणा गरिएको थियोे ।
बालमैत्री वडाको रुपमा घोषणा हुनलाई बालबालिकाको क्षेत्रमा रहेका विभिन्न ५१ वटा सूचकहरु पूरा गर्नुपर्छ, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख सुशीला वाग्लेले भनिन् । बालमैत्री वडा घोषणा हुन पाँच वर्ष मुनिका बालबालिकाहरुको जन्म दर्ता पूरा भएको हुनुपर्ने, सबै बालबालिकाहरुले पूर्णरुपमा खोप लगाएको हुनुपर्ने, बालमैत्री संरचनाहरु निर्माण भएको हुनुपर्ने लगायतका ५१ वटा सूचकहरु पार गरेपछि मात्रै बालमैत्री वडाको रुपमा घोषणा गर्न मिल्छ, प्रमुख वाग्लेले भनिन् ।
भरतपुर महानगरपालिकाले हाल अभिभावकविहीन तथा कुनै पनि साहारा नभएका ११ जना बालबालिकाहरुलाई प्रदेश सरकारको आर्थिक सहयोगमा मासिक दुई हजार रुपैयाँका दरले भत्ता प्रदान गरिरहेको छ । महानगरले यस वर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेव ढकालले जानकारी दिए ।
कार्यक्रममा भरतपुर–१० का वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक परमेश्वर खनाल, वडा नं. १३ का अध्यक्ष प्रकाश दवाडी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्की, वडा नं. २३ का वडा सदस्य अञ्जु परियार, स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेल, योजना महाशाखा प्रमुख ओमप्रसाद पाण्डे, विभिन्न पार्टीका प्रतिनिधिहरु, नगर बाल सञ्जालका सचिव स्वस्तिका पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १०२ (१) ले बालबालिकाको सम्बन्धमा कानुन बनाउने अधिकार पनि स्थानीय सरकारलाइ दिएको छ ।





















