काठमामडौँ – नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताए ।
माक्र्र्सवादी ज्ञान केन्द्रको आयोजनामा वीहीबारदेखि काठमाडौँमा शुरु भएको ‘सङ्गठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी’ को उद्घाटन गर्दै उहाँले वर्तामान आवश्यकतालाई मात्र मोर्चाले ध्यान दिए त्यसको औचित्य समाप्त हुने टिप्पणी गरे ।
उनले भने, “सुविचारित सही दिशामा गतिशील सकिएन भने मोर्चा मात्र होइन, अहिलेको राजनीतिक दलको औचित्य सकिन्छ ।” इमान्दार तवरले जनतासम्म पुग्न नसक्दा चल्तापुर्ता राजनीतिक दल कमजोर हुँदै गएको बताउँदै महासचिव भुसालले जनतासँग समाहित नभएको पार्टी लोप हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए ।
बनिबनाउ पुस्ताबाट समाज परिवर्तन असम्भव रहेकाले नयाँ पुस्तालाई राजनीतिक चेत विकास हुनुपर्ने उनको भनाइ छ । वर्तमान ‘पपुलिष्ट’ संस्कृतिलाई विस्थापित गर्नका ठूलो शक्ति पैदा हुने तर्क गर्दै महासचिव भुसालले वर्तमान राजनीतिक दलले रोक्न सकेनन् भने अब आउने दिनमा लोप हुनुको विकल्प नरहेको बताए । माक्र्सवादीभन्दा पनि भोगवादी समाज निर्माण हुँदै गएको हुँदै गएको बताउँदै उहाँले नेतृत्वलाई अन्ध समर्थन गर्दा चेतनास्तर कमजोर देखिएको टिप्पणी गरे ।
माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा भएको गोष्ठीमा माक्र्सवादी केन्द्रका सल्लाहकार गोपीरमण उपाध्यय देशको वर्तमान परिस्थितीलाई बुझेर यहाँको कला संस्कृति, कला, इतिहासको चिन्तन र बहसका विषय बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा अध्ययन संस्कृतिलाई विस्तार गर्दै लैजानुपर्ने बताए । केन्द्रलाई अध्ययन संस्थाका रुपमा विकास गरिनुपर्ने उपाध्ययको भनाइ छ ।
उपाध्यक्ष जनार्दनबाबु कट्टेलले राजनीतिक दल र जनताबीचको सम्बन्ध घनिष्ट हुुनुपर्नेमा जोड दिँदै कुनै पनि राजनीतिक दलसँग मात्र नभई कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिनका लागि भएको बताए ।
दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरबाट ६० जनाभन्दा बढी सहभागी रहेका छन् । संस्कृतिक प्रवद्र्धन र आयआर्जन, पठन संस्कृतिलाई बढाउने, समाजवाद र पुँजीवादका विषयका विभिन्न पक्षबारे छलफल हुनेछ ।रासस





















