धादिङ / कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मेगा बैंक नेपालले धादिङ बेसीमा रहेको शाखाका सबै सेवा तत्कालका लागि बन्द गरेको छ ।
बैंकमा कार्यरत एक कर्मचारीमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि हिजो बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बैंकले सम्पूर्ण सेवा बन्द गरेको हो । सदरमुकाम धादिङबेशीमा मेगा बैंकको दुईवटा शाखामा २२ जना कर्मचारी कार्यरत छन् ।
केही दिन अघि मात्रै मेगा बैंकमा गाभिएको गण्डकी विकास बैंकको शाखा पनि सञ्चालनमै रहेको छ । साविकको गण्डकीका कर्मचारी पनि विभिन्न काम विशेषले मेगा बैंकको मुख्य शाखामा आउजाउ गर्ने भएकाले अहिलेका लागि दुवै शाखा बन्द गरिएको बैंकका शाखा प्रमुख अभिषेक खनालले जानकारी दिए ।
आँखामा समस्या देखिएपछि शल्यक्रिया गर्न अस्पतालले पीसीआर रिपोर्ट मागेपछि बैंकका ती कर्मचारीलाई नीलकण्ठ नगरपालिकाबाट स्वाब परिक्षण गर्न साउन ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । हिजो बुधवार पीसीआर पोजेटिभ भएको सार्वजनिक गरिएको हो ।
























