काठमाडौं । सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको कर छुट दिने भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद निर्णयबारे जानकारी दिएकी हुन्।
उनका अनुसार नेपाल–चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं ५३१ लाई यथास्थानमा पुनः स्थापनाका लागि संयुक्त रूपमा नेपाली टोली गठन गर्ने निर्णय पनि भएको छ।
त्यस्तै बाढीपहिरो पीडितहरूको उद्धार प्रभावकारी बनाउने विषय मुख्य भएको बताउँदै उनले यस निम्ति प्रधानमन्त्रीले घटनास्थलमै पुगेर निर्देशन दिएको पनि बताइन्।
‘बाढीपहिरोका कारण अत्यन्त दुःखद घटना भयो। धेरै मानिस विस्तापित हुने अवस्था आयो। मानवीय र धन क्षति हुने जुन अवस्था बन्यो। त्यसका निम्ति प्रधानमन्त्री पनि घटनास्थल पुग्नुभएको छ। सरकार उद्धार, राहत, पुनः स्थापनामा लागिरहेको छ।’





















