काठमाडौं / माध्यमिक तहको कक्षा ११ र १२ मा जथाभावी पाठ्यपुस्तक लेख्ने प्रवृत्तिलाई यसै वर्षबाट कडाइका साथ नियन्त्रण गरिने भएको छ ।
लेखकले पाठ्यपुस्तक लेखेर सीधै बजारमा पठाउने विगतको प्रचलनले पुस्तक गुणस्तरहीन हुनुका साथै पाठ्यक्रमलाई समेत समेट्न नसकेको पाइएपछि यसलाई कडाइका साथ नियन्त्रण गरिने भएको हो ।
अब कक्षा ११ र १२ का सबै पाठ्यपुुस्तक पाठ्यक्रम विकास केन्द्रमा पूर्वस्वीकृतिका लागि पेस गर्नुपर्ने र सूचीकरण गरिएपछि मात्रै प्रकाशन गर्न पाइने प्रावधान यसै वर्षबाट कार्यान्वयनमा ल्याइने भएको छ ।
केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले लेखकले पुस्तक तयार पारेपछि स्वीकृतिका लागि पेस गर्नुपर्ने र स्वीकृति दिएपछि प्रकाशनको अनुमति दिइने जानकारी दिए ।
कक्षा ११ मा यसै पटकबाट नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी निर्णयसँगै हालसम्म पाठ्यपुस्तक लेखकले १५० वटा पुस्तक सूचीकृत गर्नका लागि पेस गरेको जानकारी उनले दिए । नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवनोपयोगी शिक्षा गरी ३ वटा विषयका पुस्तक प्रकाशन सरकारी स्तरबाटै हुनेछ । अन्य ऐच्छिक विषयको प्रकाशन भने सरकारले नगर्ने भएको छ ।
यसरी पेस गरिएका पाठ्यपुस्तकमा प्रयोग गरिएको भाषाशैली, विषयवस्तु, पाठ्यक्रमलाई अनुसरण गरे- नगरेको लगायतका आधारमा विज्ञहरूको टोलीबाट त्यसको मापन गरिने भएको छ ।
यसअघि उच्च माध्यमिक शिक्षा परिषद् मातहतमा १० जोड २ तहको कक्षा सञ्चालन हुँदा लेखकले आफूखुसी पुस्तक प्रकाशन गर्ने र त्यसलाई नै विद्यार्थीले प्रयोग गर्ने गरिएको थियो तर अब कक्षा १२ सम्म विद्यालय तह मानिएका कारण पाठ्यपुस्तकलाई पनि सोही अनुसार नै व्यवस्थापन गर्न लागिएको जानकारी अधिकारीले दिएका छन् ।आजको गोरखापत्र दैनिकमा खबर छ ।





















