नयाँदिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन्। भारतको चार दिने औपचारिक भ्रमणमा रहेका उनले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गरे। उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको बीचको सम्बन्ध र सहयोगलाई अझ बलियो बनाउनका लागि लिइएको छिमेकी पहिलो नीतिको म प्रशंसा गर्न चाहन्छु।’
प्रधानमन्त्री प्रचण्डले भेटवार्तामा दुई देशबीच व्यापार, पारवाहन, सम्पर्क सञ्जाल, लगानी, जलविद्युत्, विद्युत् व्यापार, सिँचाइ, कृषि, रेल्वे, पुल, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत भन्सार जाँच चौकीका साथै अतिरिक्त हवाई प्रवेश विन्दुलगायत बहुआयामिक क्षेत्रलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताए।
उनले भेटवार्तामा नेपालमा निर्माण भइरहेका जलविद्युत् परियोजना तथा अन्तर्देशीय प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल भएको जानकारी दिए। ‘नेपालको जलविद्युत् क्षेत्र नेपालको आर्थिक उन्नति र ऊर्जा सुरक्षाको आधार मात्रै नभई यो वातावरण संरक्षणका लागि पनि महत्त्वपूर्ण छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
भारतले हाल नेपालबाट चार सय ५० मेगावाट विद्युत् आयात गरिरहेकामा प्रशंसा गर्दै उहाँले आगामी दिनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युत्सहित थप एक हजार दुई सय मेगावाट विद्युत् आयात गर्ने प्रधानमन्त्री मोदीको सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गरे।
प्रधानमन्त्री प्रचण्डले दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने सहमति भएको बताए। यो सन् २०२२ अप्रिलमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा सम्भव भएको उनको भनाइ छ।
उनले नेपालबाट भारत हुँदै बङ्गलादेशसम्म दैनिक ५० मेगावाट विद्युत् पुर्याउनका लागि गरेको सहयोगको प्रशंसासमेत गर्नुभयो । उहाँले विद्युत् व्यापारका सन्दर्भमा नेपाल–भारत–बङ्गलादेशबीच छिट्टै त्रिपक्षीय सम्झौता हुनेमा विश्वास व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना र चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको सम्झौताले विद्युत् विकास र अन्तर्देशीय प्रसारण लाइनको विकासमा नयाँ सुरुआत भएको बताए। उनले दुई प्रधानमन्त्रीबीच तीन महिनाभित्र बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र डिपिआर स्वीकृत भएको एक वर्षभित्र कार्यान्वयनको ढाँचा तयार गर्ने सहमति भएको जानकारी दिए।
उनले टनकपुर नहरबाट नेपालतर्फको सिँचाइ, मनसुन सुरु हुनुअघि नै नेपालको तराई क्षेत्रमा हुनसक्ने बाढीको जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रले काम गर्ने विषयमा छलफल भएको जानकारी गराए। उनले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमा सहजीकरण गर्न आग्रह गरेको बताए। उनले नेपालको जुटजन्य वस्तुको सामग्रीमा एन्टिडम्पिङ हटाउन आग्रह गरेको बताए।
व्यापार सहजीकरणका लागि एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाहको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसमा सहजीकरणका लागि भारतसँग आग्रह गरे। उनले व्यापार र पारवाहनसम्बन्धी सम्झौता पुनरावलोकन गरिएको बताए।
प्रधानमन्त्री प्रचण्डले अन्तर्देशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौताले दुवै देशका विद्यार्थी, व्यापारी, पर्यटक र तीर्थालुका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। मोतिहारी–अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने, भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण गर्ने विषयमा सम्झौता भएको उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले अतिरिक्त हवाई प्रवेश विन्दुका लागि आफूले छलफल गरेको र सो सम्बन्धमा भारत सकारात्मक पाएको बताए। ‘भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु। यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ,’ उनले भने।
उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताए। प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सीमाका विषयमा आफूहरूबीच द्विपक्षीय कूटनीतिक संयन्त्रका माध्यमबाट समाधानका लागि पहल गर्ने विषयमा छलफल भएको बताए। उनले नेपालमा संयुक्त साझेदारीमा रासायनिक मलको कारखाना स्थापना गर्ने विषयमा पनि छलफल भएको बताए।
भारत नेपालको नजिकको विकास र समृद्धिको साझेदार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले भारतको निरन्तर सहयोगको अपेक्षा गरे। -रासस





















