चितवन – चितवनको नारायणगढमा ‘चित्तौन कचेहेरी’को आयोजना गरिएको छ। वैशाख २९ र ३० गते किनारामा पारिएका मानिसका मुद्दालाई सामाजिक चिन्तनको मूल धारमा प्रकट गर्ने उद्देश्यले ‘चित्तौन कचेहेरी’को आयोजना गर्न लागीएको हो ।
चित्तौन कचेहेरीको संयोजक एवं उत्सव निर्देशक सरिता तिवारीले चितवनको मुद्दामा केन्द्रित भएर फरक शैलीको विचार उत्सव मनाउन लागिएको बताइन्। ‘चित्तौन कचेहेरी’ चितवनका आदिवासी थारूको बोलीचालीको शब्द हो। यसको अर्थ ‘चितवनको बहस’ हुन्छ ।
मन्थन, डबली द स्पेस, दलित युवा जागरण मञ्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा ‘चित्तौन कचेहेरी’आगामी शुक्रबार र सनिबार हुँदै छ । नारायणगढको नारायणी कला मन्दिरमा हुने ‘चित्तौन कचेहेरी’लाई आयोजकहरूले ‘विचारको उत्सव’ भनेका छन्। बहसमा सहभागी हुन चहानेहरुलाई नि:शुल्क प्रवेश गरिएको छ । कार्यक्रममा १० भन्दा बढि बहसका सत्र रहने छन् ।
कार्यक्रमको पहिलो सत्रमा आउने पहिलो अतिथि पौडेल को हुन् ?
राधा पौडेल लेखक,अधिकारकर्मी र अनुसन्धानकर्मी समेत हुनुहुन्छ । उहाँ चितवनको भुइँबाट बडो संघर्षले उठेर नर्सिङ शिक्षा अध्ययन गरी भरतपुर,काठमाडौ हुँदै देशको कठीन भूगोल जुम्ला लगायत ठाँउबाट स्वास्थ्य सेवामा खटिएर पछिल्लो समय महिलामाथिको संरचनात्मक हिंसाको महिनावारी विभेदजस्तो विषालु प्रचलनविरुद्ध लड्ने अथक योद्धा हुनुहुन्छ । युवा तथा महिलाका लागि विशेष उत्प्रेरक, चितवनकी छोरी राधा पौडेल महिलाको मर्यादित जीवनको लागि देशका गाउँ गाउँ देखि अन्तर्राष्ट्रिय मन्चसम्म पुगेर बोल्नुभएको छ। युवाचेतलाई आफ्ना कर्मको उर्जा र उत्साह भर्न, हिंसाविरुद्ध लडिरहेका महिला,दलित र किनारामा पारिएका मानिसहरूको आवाजमा आवाज थप्न चित्तौन कचेहेरीको पहिलो संस्करणमा राधा पौडेललाई उभ्याईदै छ।
























