काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन्।
काठमाडौंमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको आज साँझ लोकार्पण गर्दै उनले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताए।
लोकार्पणमा प्रधानमन्त्री प्रचण्डले भने, ‘जतिबेला म दोस्रो पटक प्रधानमन्त्री थिएँ। त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो। संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए।
मधेस आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन। संघीय ढाँचाको टुंगो लगाउन बाँकी नै थियो। तर, निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो।’
उनले थपे, ‘संघीयताको सफल अभ्यास गरियो। स्थानीय तहदेखि केन्द्रसम्मका चुनाव भए। आन्दोलनरत दल पनि सहमतिको प्रक्रियामा आए। अर्थतन्त्रमा राम्रो सुधार आयो। ७ दशमलव ५ अंकको आर्थिक वृद्धिदर हासिल गरियो, विद्युत्भार कटौती अन्त्य भयो। ठूला आयोजनामा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो। यस पटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ।’
देशको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ। समष्टिगत आर्थिक परिसूचक सकारात्मक छन्। विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ।
अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ। तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउँछ भन्नेमा म विश्वस्त छु।’
अयोधीप्रसाद यादवको जीवनीबारे प्रधानमन्त्रीले भने, ‘मधेस आन्दोलनमा भएको, संविधानप्रति असन्तुष्ट रहेको परिस्थितिमा अयोधीजी प्रमुख निर्वाचन आयुक्त हुनुभयो। उहाँ एकदम इमान्दार र प्रतिबद्ध भएर नलागेको भए वडादेखि राष्ट्रपतिसम्मको निर्वाचन गर्न सजिलो थिएन। तर उहाँले गराउनुभयो।
पुस्तकमा उहाँले जे जति कुरा लेख्नुभएको छ, जस्ता प्रसङ्ग उठाउनुभएको छ, त्यहाँ कुनै ढोङ छैन, बरु इमान्दारिता छ।’





















