चितवन – शंकरप्रसाद कँडेलले शुक्रबार नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीलाई टेलिफोन गरेर भनेका थिए-‘अब म अध्यक्ष भएर एक कार्यकाल चलाउँछु। त्यसपछि राजनीतिमा लाग्छु।’ कँडेल नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष हुन् भने अहिले महासमिति सदस्य छन्। कँडेल र पुरी नजिकका साथी थिए। कँडेल आफु अध्यक्ष नबनेर एक कार्यकाल पुरीलाई नै अध्यक्ष बन्न प्रस्ताव गरेका थिए। कँडेल संघको प्रथम उपाध्यक्ष थिए।
शुक्रबारको टेलिफोन कुराकानीमा कँडेल स्ट्रङनै सुनिन्थे। तर उनै कँडेलले मंगलबार साँझ चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकमा रहेको आफ्नै अफिसमा झुण्डिएर आत्महत्या गरे। ठूलठूला समस्यासँग जुध्नसक्ने कँडेलको आत्महत्या र सुसाइड नोटमा उल्लेख भएका उद्योगी प्रदीप रुंगटा र उनकै कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावलविरुद्ध परिवारले किटानी जाहेरी दिएका छन्। आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी परेको छ। यो जाहेरीपछि रुंगटा र रावललाई प्रहरीले खोजिरहेको छ। रुंगटा र रावल सम्पर्कवाहिर छन्।
प्रदीप रुंगटासँगको विवाद के हो ?
१० वर्षअघि कँडेलले भरतपुर महानगरपालिका वडा नम्बर ३ मा अनमोल फिड्स उद्योग खोलेका थिए। यो उद्योगमा अरु साझेदार पनि थिए। सुरुमा यो उद्योगमा झण्डै ४० जना साझेदार थिए। तर पछिल्लो समयमा दुई दर्जन साझेदारमा सीमित भए। तर यसको मुख्य लगानीकर्ता कँडेल नै थिए। हिमालयन फिडमा काम गरेर आएका कँडेल आफैंले उद्योगको उत्पादनदेखि बजारसम्म हेर्ने गर्थे।
कोभिड सुरु भएपछि एकाएक पोल्ट्री व्यवसाय समस्यामा पर्यो। बजारबाट उधारो नउठ्ने र बिक्री पनि घट्न थालेपछि कँडेल समस्यामा परे। उधारो नउठ्ने तर उत्पादन बजारमा लैजान थप रकमको आवश्यक भयो। तर आवश्यक रकमको जोहो गर्न धौधौ भएपछि कँडेलले उद्योग बेच्ने निर्णयमा पुगे। उनले संघकै उपाध्यक्षका प्रदीप रुंगटासँग उद्योग बिक्रीका बारेमा प्रस्ताव राखे। रुंगटा समूहको चेयरम्यान रहेका प्रदीपले उनको प्रस्ताव सहर्ष स्वीकार गरे।
रुंगटा नेपालको नम्बर वान दाना उत्पादकभित्र पर्छ। यो समूहले पोषक ब्राण्डमा दाना उत्पादन गर्दै आएको छ। यो वाहेक समूहले पर्ल ब्राण्डमा चामल प्रोसेसिङ गरेर बेच्दै आएको छ भने दिब्य रिफाइन आयल पनि छ। खाद्यान्न उद्योगमा पनि साम्राज्य खडा गरेको रुंगटा समूहलाई उनले ८५ प्रतिशत सेयर १ अर्ब १५ करोड रुपैयाँमा उद्योग बेचे। दाना उद्योगमा कँडेलको १५ प्रतिशतको मात्र हिस्सा थियो। तीन महिनाअघि कँडेल र प्रदीपबीच डिल भयो। उद्योग रुङटाले लिने र व्यवस्थापन पनि उनैले चलाउने सहमति भएको थियो।
सहमतिमा उद्योगको सबै दायित्व रुङटाले ब्यहोर्ने उल्लेख छ। उद्योगको सबै दायित्व कटाएर कँडेल र उनका साझेदारले पाउने २८ करोड हुने हिसाबमा पनि सहमति गरिएको थियो । सहमति अनुसार यही वैशाख ७ गते कँडेल र उनका १५ जना अन्य साझेदारले कानुनी रूपमा रुङटाका नाममा दाना उद्योग नामसारी गरिदिएका थिए। त्यस वेला उनीहरूले एक पैसा पनि लिएका थिएनन्। सबै साझेदार कँडेलका विश्वासपात्र र आत्मीय थिए। त्यसैले कँडेलका विश्वासमा सबैले ल्याप्चे लगाए।
यसपछि कँडेललाई उनका साझेदार साथीले पैसाका लागि ताकेता गर्न थाले। साझेदारले मात्र नभएर बजारमा तिर्नुपर्ने कच्चा पदार्थका आपूर्तिकर्ता र अन्यले पनि कँडेललाई नै ताकेता गरे। कँडेलले मैले सबै रुङटालाई जिम्मा लगाइसकेको छु भनेर व्यवसायीलाई भन्दा पनि धर पाएनन्। आफ्नो पालाका आपूर्तिकर्ताले उनलाई नै दबाब दिइरहे।
यसपछि कँडेल बारम्बार रुङटासित रकमका लागि जान थाले। रुङटाले मेरो बजारबाट पैसा उठ्नुछ, उठेपछि दिन्छु भन्दै आनाकानी गरिरहे। यसैबिच एक दिन कँडेललाई रुङटाले आफ्नो कार्यालयभित्र छिर्न पनि दिएनन्। कारखानाभित्र पस्न पनि उनलाई बन्देज लगाइयो। कँडेलले उद्योगको हैसियतले चढिरहेको पजेरो गाडी पनि रुङटाले खोसे। यसपछि कँडेलले आत्महत्याको बाटो समाए।





















