काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रधानमन्त्रीको सिफारिसमा तीन जना मन्त्री नियुक्त गरी कार्यभार तोकेका हुन्।
नेपाली काँग्रेस उपसभापति धनराज गुरुङ, सांसद मोहनबहादुर बस्नेत डिगबहादुर लिम्बु मन्त्री भएका हुन्। गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूले बिहीबार दिउँसो ३ बजे शपथग्रहण गर्ने कार्यतालिका छ।
सत्ता गठबन्धनमा काँग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीन वटा मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त तीन मन्त्रीमध्ये गुरुङ र लिम्बु शेखर कोइराला समूहका हुन् भने स्वास्थ्य मन्त्री बस्नेत शेरबहादुर देउवा पक्षका हुन्। यसअघि काँग्रेसभित्रको विवादका कारण ५ जनाले मात्रै शपथ खाएका थिए।
कोइराला पक्षले आफूहरूले तीन जना मन्त्री पाउनुपर्ने अडान राखेपछि काँग्रेसले मन्त्रीहरू पठाउन सकेको थिएन। काँग्रेसबाट यसअघि पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन्।






















