चितवन / भरतपुर महानगरपालिका वडा न. १० मा रहेको नारायणी नमुना उच्च माध्यमिक विद्यालयले नयाँ भवनको शिलान्यास तथा बृक्षारोपण कार्यक्रम आज (बुधबार) सम्पन्न गर्यो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उद्योग संघका अध्यक्ष राजु पौडेल लगायतका बुद्धिजिवीहरुको उपस्थिति थियो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले परम्परागत शिक्षा पद्धतीलाई तोड्दै अबको शिक्षा वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा जोड दिएकी छिन् । उनले त्यसका लागि महानगरले विशेष योजना बनाएर विशेष कार्यक्रम नै संचालन गरिने बताईन् । भरतपुर महानगरपालिका भित्र १ सय २३ वटा विद्यालयहरु रहेको बताउदैं उनले ती सबै विद्यालयहरुमा आवश्यकताका आधारमा यस वर्ष १८ करोड भन्दा बढी बजेट विद्यालय पुर्वाधार निर्माणमा लागि खर्चिसकेको बताईन् ।
प्राविधिक क्षेत्रमा उच्च शिक्षामा लागि रामपुरमा चितवन ईन्जिनियरिंग संचालनमा रहेको र महिलाहरुलाई लक्षित गर्दै महिला बहुप्राविधिक विद्यालय वडा नम्बर २३ जगतपुर मा संचालन गर्न लागिएको छ’–उनले भनिन्–‘यसै शैक्षिक सत्रबाट त्यस विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा छौं ।’ भरतपुर महानगरकाले आफ्नो पहलमा खुल्ला विश्वविद्यालय स्थापनाको प्रकृया अगाडी बढाइएको पनि उनले जानकारी दिईन् । महानगर भित्र आवश्यकता हेरि विद्यालयहरु मर्जर गर्ने नितिलाई पनि प्राथमिकतामा राखिएको बताउदैं उनले यस आर्थिक वर्षबाट यसको प्रभावकारी कार्यान्वयनमा जोड दिईने उल्लेख गरिन् ।
‘शैक्षिक गुणस्तर बृद्धि नगरि राष्ट्रले लिएको अपेक्षा पुरा हुन सक्दैंन’–उनले भनिन,‘यो अपेक्षा पुरा गर्न सम्पुर्ण नगरबासीको साुमहिक प्रयास चाहिन्छ ।’ शैक्षिक विकासका लागि अपेक्षा विपरित कुनै सम्झौता नगर्ने पनि उनले बताईन् । सोही अवसरमा मेयर दाहालले नारायणी माविमा अध्ययनरत अपांग तथा अन्य विद्यालयलाई सहुलियत होस भनेर महानगरले विद्यालय बस हस्तान्तरण गर्ने बताईन् ।
सोही कार्यक्रममा उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरले समग्र क्षेत्रमा उल्लेख्य काम गरेपनि शिक्षा क्षेत्रमा देखिने गरि काम भएको बताए । उनले शैक्षिक गुणस्तर बृद्धिको लागि सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । त्यसैगरि जिल्ला समन्वय समितिका उपप्रमुख मुनाकुमारी श्रेष्ठले यो विद्यालयले उल्लेख्य फड्को मारेको भन्दै यसलाई देशकै नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिईन् ।
विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद दबाडीले २०२० सालमा रात्री विद्यालयको रुपमा स्थापना भएको विद्यालय अत्यन्तै नाजुक अवस्थामा पुगेपनि २०५७ सालबाट फड्को मार्दै २०७१ सालबाट देशकै उत्कृष्ट विद्यालय बन्न सफल भएको बताए । ‘हाल विद्यालयमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन, बौद्धिक अपांगता भएका विद्यार्थीलाई लक्षित गर्दै ५० भन्दा बढी कक्षा संचालन गर्दै आएका छौं’–उनले भने,‘ती विद्यार्थीहरुका लागि १ सय क्षमताको छात्रा होस्टल बनाउने योजना छ ।’ उनले अबको ५ वर्ष भित्र विद्यालयमा ५ हजार विद्यार्थी पुर्याउने योजना रहेको बताए ।

आज (बुधबार) शिलान्यास गरिएको विद्यालय ब्लकमा १ करोड ६६ लाखको लागतमा ३ वर्ष भित्र २४ कोठे भवन तयार गर्ने लक्ष्य राखिएको छ । विद्यालय परिसरमा आज विभिन्न जातका फलफुल तथा अन्य बिरुवा बृक्षारोपण गरिएको छ ।
बृक्षारोपणको लागि डिभिजन वन कार्यालय, लायन्स क्लब अफ बागेश्वरी र नारायणी क्लबले सहयोग गरेका छन् ।






















