भरतपुर – चितवनमा सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । दिगो आर्थिक विकासका लागि बृहत् अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी भन्ने अभियानसहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्वमा वैशाख २२ देखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा प्रदर्शनी आयोजना हुनेछ ।
औद्योगिक मेसिनरी र प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एन्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनी हुने यस औद्योगिक प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी स्टलहरु रहने आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।
प्रदर्शनी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्ने कार्यक्रम छ । प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्णरुपमा चलायमान हुन गई आर्थिक कारोबारसमेत बढ्न जाने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गरेको कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गरेका थिए ।





















