चितवन : दुध उत्पादनका लागि खरिद गरिएका दुहुना गाई चितवन नाकामा अलपत्र परेका छन् । चितवनबाट खरिद गरी सिन्धुली लैजान लागिएका १७ वटा दुहुना गाई चितवनको लोथरमा प्रहरीले रोकेपछि अलपत्र परेका हुन् । दुई वटा गाडीमा राखिएको १७ वटा गाई हिजो साँझ देखि अलपत्र रहेको किसान बाबुराम श्रेष्ठले जानकारी दिए ।
‘यस अघि १४ वटा गाई खरिद गरेर लगेका थियौँ,’ उनले भने, ‘यसपटक गाउँपालिका र वडाको कागजपत्र र सिफारिस सहित गाई लैजान लागेको भएपनि सिमानामा रोकियाे ।’
‘ऋण लिएर दूध उत्पादन बढाउने हिसाबले खरिद गरिएका गाई हामीलाई मासुका लागि तस्करी गरेको भनेर रोकियो’ उनले दुखेसो गर्दै भने, ‘दिउँसो अत्याधिक मात्रामा गर्मी हुन्छ गाईलाई समस्या हुन्छ भनेर साँझ नै गाडीमा लोड गरिएका गाई गाडी भित्रै भोक भौकै छन् ।’
हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा रहेका कृषकहरुलाई व्यवसायीक बनाउने उद्देश्यले व्यवसायीक पशुपालनलाई अभियानकै रुपमा अघि बढाएपछि त्यहाँका किसानहरुले पशुपालनको कार्य थालेका छन् ।
सहकारीका प्रबन्ध संचालक सुमन थापाले भने ‘हाम्रो यो ठाउँ दूध उत्पादनको लागि भर्जिन ल्याण्ड हो चितवन, मकवानपुर लगायतका जिल्लाबाट गाई ल्याउनुको विकल्प हामीसंग छैन । तर प्रहरी प्रशासन मार्फत किसानलाई हतोत्साहित गराउने काम भएको छ ।’
थापाका अनुसार गोलन्जोर गाउँपालिकाको वडा नं ३, ५, ६ र ७ का कृषकहरुलाई कृषक समुह श्रीकृष्ण कृषि तथा दुग्ध उत्पादक कृषक समुहमार्फत संगठित गर्दै दूध उत्पादनको लागि पशुपालन सम्बन्धि कार्यको थालनी गरिएको हो ।
गाई दूध र स्रोत केन्द्रको रुपमा चितवनलाई लिने गरिन्छ । किसानहरुले १ लाख देखि डेढ लाख रुपैयाँ सम्ममा खरिद गरेर ५० वटा गाई क्रमिक रुपमा सिन्धुली लैजाने तयारीमा छन् ।
जिल्ला दुध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेले यो कार्य प्रहरी प्रशासनको किसान माथिको हेपाहा कार्य भएको बताउँछन् । यहाँ विदेशबाट उत्पादन बढाउन गाई ल्याउने कुरा गरिन्छ । त्यसका लागि राज्य शक्ति नै लाग्छ । तर एक जिल्लाबाट अर्को जिल्लामा किसानलाई गाई पठाउँदा रोकावट किन हुन्छ ? उनले प्रश्न गरे।
सम्बन्धित पालिकाको सिफारिस नभएको कारण गाई पठाउन रोकिएको प्रहरी प्रशासनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले सिफारीस नभएको कारण गाई पठाउन नसकिएको बताए ।
उनले भने ‘चितवनको नाकामा मात्र होइन सम्बन्धित पालिकाको सिफारिस नभएपछि अन्यत्र नाकामा पनि गाई रोकिन्छ । अरु स्वर्थ केही होइन । सम्बन्धित पालिकाको सिफारिस भयो भने हामीलाई केही समस्या हुँदैन । अघिल्लो पटक पनि उहाँहरुले गाई लानु भएको थियो । त्यो समयमा व्यवहारिकता हेरेर पठाईयो। सधै यसरी नै पठाउँदा राजमार्गमा तस्करी गर्नेहरुलाई प्रोत्सान हुन सक्छ ।’
नयाँ पत्रिकालाई पालिकाको सिफारिस देखाउँदै किसानहरुले भने- ‘विना कारण गाई सडकमा अलपत्र पारिएको छ । हामीसँग सम्बन्धित पालिकाको सिफारिस पत्र छ ।’
























