काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका १० वटाभन्दा धेरै बैठकमा अनुपस्थित हुने सांसदहरुको विवरण सार्वजनिक गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले १० वा त्यसभन्दा बढी बैठकमा अनुपस्थित ५ सांसदको नाम सुनाएका हुन्।
शुक्रबार रातिदेखि संसदको चालु अधिवेशन अन्त्य गरिने भएपछि सभामुख घिमिरेले १० भन्दाबढी बैठकमा लगातार अनुपस्थित सांसदको नाम पढेर बिदा स्वीकृत गराउन खोजेका थिए।
लगातार १० बैठकमा अनुपस्थित हुनेमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् सांसद वर्षमान पुन रहेका छन्।
उपमहासचिव वर्षमान पुन स्वास्थ्योपचार गराउन गत फागुन २ गते चीन गएका थिए। श्रीमती ओनसरी घर्तीसहित उपचारका लागि चीन गएका उनी अझै फर्किएका छैनन्।
वंशाणुगत जण्डिसबाट पीडित पुन समस्या बढेपछि उपचारका लागि चीन गएका थिए। उनी त्यसयता अझै पनि चीनमै उपचाररत छन्।
त्यसैगरी नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारी पनि लगातार १० वटा बैठकमा अनुपस्थित छन्।
घरमै ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते उनलाई गत फागुन ४ गते थप उपचारका लागि भारतको मुम्बई लगिएको थियो। उनी अहिले पनि मुम्बईमै उपचाररत छन्।
त्यसैगरी कांग्रेस अन्य दुई सांसदहरू विनाकुमारी थनैत र मनोरमा शेरचन पनि स्वोस्थ्योपचारका क्रममा छन्। उनीहरु पनि बिरामी भएकैले बैठकमा अनुपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिएका छन्।
सभामुख घिमिरेका अनुसार मंसिर ४ गतेको आम निर्वाचनपछि पहिलो बैठक पुस २५ गते बसेको थियो। शुक्रबारसहित २८ वटा बैठक बसेका छन्।
को कति दिन अनुपस्थित :
मनोरमा शेरचन–२९ दिन (स्वास्थ्य समस्या)
बिना कुमारी थनैत–२६ दिन (स्वास्थ्य समस्या)
लक्ष्मी महत्तो कोइरी–२१ दिन (स्वास्थ्य समस्या)
चन्द्रकान्त भण्डारी–१८ दिन (स्वास्थ्य समस्या)
वर्षमान पुन–२६ दिन (स्वास्थ्य समस्या)





















