काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि बारा २, चितवन २ र तनहुँ १ मा आइतबार शान्तिपूर्ण उपनिर्वाचन भएको छ।
निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जनाएको छ।
आयोगको प्रारम्भिक विवरण अनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ। यद्यपि मतदानको विवरण भने आयोगको सूचना प्रणालीमा प्रविष्टि हुनेक्रममा रहेको आयोगले जनाएको छ।
स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको तयारी समेत गरिसकेका छन्।
आयोगका अनुसार बारा २ मा शिक्षा तालिम केन्द्र, कलैया, चितवन २ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ १ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतपेटिका संकलन भएपछि मतगणना गर्ने तयारी छ।





















