काठमाडौं। आगामी आइतबार हुने उपनिर्वाचनको मौन अवधि गएराति १२ बजेदेखि सुरु भएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन। आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।
मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउने छैनन्। सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन। निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो। मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ।
निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख गरिएको छ।
यस समयमा जनतासँग मत माग्न समेत पाइँदैन। एसएमएस, फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यम प्रयोग गरेर समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने नियम छ। त्यसैगरी सञ्चार माध्यमले पनि चुनावी प्रचारलाई सहयोग पुग्ने खालका कुनै पनि सामग्री सम्प्रेषण गर्न पाउँदैनन्।
अनलाइन, छापा वा अन्य कुनै सञ्चार माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न मिल्दैन।
यस अवधिभर दल, तिनका भ्रातृसंगठन, उम्मेदवार लगायतले राजनीतिक प्रचार र भेला गोष्ठी लगायतका कार्यक्रम आयोजना गर्न नपाउने नियम छ। त्यसैगरी मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना प्रचारप्रसारका सामग्री पनि हटाउनु पर्ने नियम छ।
मौन अवधि उल्लंघन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।





















