एजेन्सी। अपहरणको अभियोगमा दोषी ठहरिएका एक जना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ। पत्रकार बनेर आएका तीन जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद र उनका भाइ असरफलाई गोली हानेर मारेका हुन्।
यहाँस्थित अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याइएका अहमद दाजुभाइ अस्पतालबाहिर पत्रकारसँग कुराकानी गरिरहेका वेला पत्रकारकै बीचमा रहेका ती तीन जनाले उनीहरूलाई टाउकोमा गोली हानेका थिए। घटना गए राति भएको हो। पूर्वसांसद राजु पालको हत्यामा दोषी ठहरिएका उनीहरू साबरमती जेलमा कैद भुक्तान गरिरहेका थिए। आक्रमणकारी तीनै जनालाई पक्राउ गरिएको छ।
अतिक अहमदविरुद्ध विगत दुई दशकमा अपहरण, हत्या र जबरजस्ती करणीलगायत दर्जनौँ मुद्दा दर्ता भएका थिए। स्थानीय अदालतले उनलाई अपहरण मुद्दामा गत मार्चमा जन्मकैदको सजाय सुनाएको थियो। अतिकले आफूलाई प्रहरीबाट असुरक्षा रहेको बताउँदै आएका थिए।
अतिक र असरफलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ। दुई दिनअघि अतिक अहमदका छोरा असद तथा उनीसँगै रहेका उनका साथी गुलाम मोहम्मद झाँसीमा भएको प्रहरी कारबाहीमा मारिएका थिए। उनीहरूविरुद्ध उत्तर प्रदेश प्रहरीको विशेष कार्यदलले कारबाही गरेको थियो।
मुख्यमन्त्री योगी आदित्य नाथले उक्त घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिँदै तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गरेका छन्। उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले उक्त घटनालाई अपराधको पराकाष्ठा भन्दै राज्यमा शान्ति-सुव्यवस्था कायम गर्न अक्षम भएकामा राज्य सरकारको आलोचना गरे।
काँग्रेस नेत्री प्रियंका गान्धी, भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम येंचुरीलगायत विभिन्न राजनीतिक पार्टीका नेताले हत्याकाण्डको निन्दा गरेका छन्। उनीहरूले राज्यमा जंगली राजलाई बढावा दिएको आरोप लगाउँदै मुख्यमन्त्री आदित्यनाथको आलोचना गरे।





















