काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पीडितहरूको सरकारसँग भएको सम्झौता कार्यान्वयन हुने बताएका हुन् ।
उनले मिटरब्याज पीडितलाई न्याय दिलनउने प्रतिबद्धता जनाउँदै सांसदहरूले मिटरब्याजपीडितहरूको समस्याबारे प्रश्न उठाएपछि उनले न्याय दिलनउने प्रतिबद्धता जनाएका हुन् ।
‘आजको नेपालमा पनि सामन्तवादको अवशेष विद्यमान छ । त्योमध्ये एउटा मिटरब्याजी हो । पीडितहरूले आन्दोलन उठाइरहेका छन् ।
यो समस्या समाधान गर्नै पर्छ । जनता पीडित छन् । न्याय दिनुपर्छ । पीडाबाट मुक्त गर्नुपर्छ,’ उनले भने । ‘पहिले कार्यदल बनाइएको थियो । अहिले आयोग बनाएका हौैँ ।
आयोग मन्त्रिपरिषद् बैठकबाट पारित गर्नेगरी अगाडि बढ्ने छ,’ उनले भने, ‘यसलाई कसुर हो भनेर कानुनी आधार तय गर्नुपर्छ ।
कार्यान्यन गर्न विधेयक ल्याउने निर्णय भएको छ ।’ सरकारले बनाउने आयोगलाई आवश्यक कारबाहीको सिफारिस गर्ने गरी अधिकार दिइने उनले बताए । उनले सामन्तवादको अवशेषको अन्त्य भएको सुनिश्चत गर्ने बताए । सरकार र पीडितपक्षबीच आयोग गठन गर्ने सहमति भएको संसदलाई जानकारी पनि गराए ।





















