चितवन – भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित कमलादेवी मन्दिर परिसरमा भएको नवदिवसीय श्रीमददेवीभागवत् नवाह महायज्ञ भव्य रुपमा सम्पन्न भएको छ ।
यही चैत ८ गते भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा उद्धघाटन भएको महायज्ञ हरेक दिन छुट्टाछुट्टै प्रमुख अतिथिको आतिथ्यमा चैत १६ गते विहिबार नेकपा माओबादी केन्द्र बाग्मती प्रदेश सदस्य सुमन सापकोटाद्वारा समापन भएको हो ।

१०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको विकास र विस्तार गर्ने उद्देश्यले लगाईएको नवाह महायज्ञको सम्पूर्ण उदेश्य पुरा भएको कमलादेवी मन्दिर टोल विकास संस्थाका अध्यक्ष तथा यस महायज्ञका प्रचार प्रसार संयोजक नबिन बाबु मरहट्टाले बताए । साथै मरहट्टाले यस नवदिवसीय श्रीमददेवीभागवत् नवाह महायज्ञ लाई सफल बनाउन लाग्नुभएको सबै धन्यबाद व्यक्त गरेका थिए ।
महायज्ञमा नगद र चेक गरी ७० लाख र ३० लाख बोलकबल रकम गरी १ करोड उठेको महायज्ञका आर्थिक समितीका संयोजक राजु पौडेलले बताए । महायज्ञमा १ करोड आम्दानी हुने अनुमान गरिएको थियो । सोही अनुसार रकम उठेको उनले बताए । त्यस्तै भक्तजनबाट भवन निर्माणका लागि सिमेन्ट, खाध्यान्न भगवानका मुर्ती लगायतको सहयोग भएको उनको भनाई छ ।

महायज्ञमा हरेक दिन साँझ झाकीँ सहितको भजनकृतन भएको थियो । महायज्ञ भव्य रुपमा सफल भएको नवाह महायज्ञका श्रीधर लामिछानेले बताए ।
सो मन्दिर २०२१ साल देखि नै पुजनादी कर्मद्वारा सँरक्षण हुँदै आईरहेको छ भने कोभीडको विगविगीका बखत यहाँ निर्माण गरिएका भवनलाई कोविड आईसोलेसन भवनको समेत प्रयोग गरिएको थियो ।कमलादेवी मन्दिरको भोगाधिकारभित्र चार बिगाह चार कठ्ठा जमिन छ ।

कमलादेवी मन्दिर टोल विकास संस्थाको परिसरमा रहेको यो जमिन क्षेत्रमा गणेश मन्दिर, शिवालय, सत्सङ सभा हल, कमलादेवीको मन्दिर, आठ कोठे आरोग्य चिकित्शालय, होमालय, होमकुण्डाश्रम, इनार, धारा, चौतारा, काजक्रिया कटेरो, तारजालीयुक्त सीमा बारबन्धन, वनभोज गृह, कमलादेवीको बली मन्दिर, मौलो आदि संरचनाहरू निर्मित छन् ।





















