काठमाडौं । सरकारले नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक (आईजीपी) मा वसन्त बहादुर कुँवरलाई नियुक्त गरेको छ ।
शुक्रबार बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नेछन् ।
वर्तमान आईजीपी धिरज प्रताप सिंहले शुक्रबार मध्यरातबाट अनिवार्य अवकाश पाउन लागेपछि सरकारले आजै नयाँ आईजीपी नियुक्तिको निर्णय गरेको हो ।
आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।
हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
२९ वर्षपहिले कुँवरले प्रहरी निरीक्षकमा पहिलो नम्बरमा नाम निकालेका थिए। त्यसपछि उनी कहिले पनि आफ्नो वरीयतामा अडिएनन्। डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा झन् झन् पछाडि धकेलिए। अवकाशको दुई वर्षपहिले भर्ना हुँदाको वरीयतामा फर्किएका कुँवर नेतृत्वको समेत बलियो दाबेदार बने।
एसएसपी हुँदासम्म पछि परेका उनी डिआईजी बढुवामा एक नम्वरमा उक्लिएसँगै आईजीपीको दाबेदार बनेका थिए ।
भर्ना हुँदा पहिलो नम्बरमा भएका कुँवर डीएसपी हुँदा ६ नम्बरमा र एसपीमा १२ नम्बरमा पुगेका थिए। पछि एसएसपीमा ब्याचबाट १३औँ नम्बरमा पुगेका कुँवर डिआईजी बढुवामा भने एकैपटक १२ स्थान अगाडि आइपुगेका हुन्।
एआईजी बढुवामा पनि उनले श्यामलाल ज्ञवाली, टेकप्रसाद राई, दिपक थापा र किरण बज्राचार्यलाई पछाडि पार्दै पहिलो नम्बरमा नै बढुवा भएका थिए । बढुवा भएका प्रहरी अधिकारीहरुले विहिबार मात्रै एआईजीको फूली लगाएका हुन् ।

आईजीपी सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई पनि बिदाइ गरिएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरप्रति हार्दिक आभार प्रकट गरे ।
प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गरे । संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतिहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई उनले निर्देशन समेत दिए ।
प्रहरी महानिरीक्षक सिंहले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गरे । समारोहमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गरे ।
साथै नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरेका छन् । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे ।
संगठनको दिशानिर्देश गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक सिंहबाट बिदाइ सम्बोधनको क्रममा व्यक्त गरेका शब्द र त्यसका भावनाहरूलाई हृदयङ्गम गरी संगठनलाई मन, वचन र कर्मले नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाई छ ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै सेवा निवृत्त हुन लागेका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डे रहेका छन् । यस्तै समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहलाई समेत बिदाइ गरिएको छ ।






















