चितवन / जनताको घरमा आगो लगाउनेहरू विरुद्ध नेकपा क्रान्तिकारी माओवादी आन्दोलनमा उत्रिएको छ।
सुकुम्बासीका घर भत्काउने र चेपाङ युवालाई कुटीकुटी, मार्ने काममा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) चितवनले सोमबार भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी क्रान्तिकारी माओवादीले यस्तो माग गरेको हो ।
माडी नगरपालिका ९, कुसुमखोलामा पुगी स्थलगत अध्ययन गरी सदरमुकाम फर्किएर क्रान्तिकारी माओवादीका जिल्ला तहका नेताले त्यहाँको बस्तुस्थिति बुझ्दा सरकारबाट राज्यआतङ्क सिर्जना गर्ने काम भएको बताएका हुन् ।
पत्रकार भेटघाटमा बोल्दै पार्टीका जिल्ला सेक्रेटरी अशोक शर्माले निकुञ्जका सुरक्षाकर्मीबाट माडीमा सुकुम्बासीका घर जलाउने र पिप्लेमा चेपाङ युवकलाई कुटेर मार्ने काम राज्यआतङ्क भएको बताए ।
‘निकुञ्जका वार्डेनको आदेशपछि सहायक वार्डेनको नेतृत्वमा सात वटा हात्ती चढेर गएका निकुञ्जका सुरक्षाकर्मी र कर्मचारी गरी २५ जनाको टोलीले झुप्रामा आगो लगाउने र घर भत्काउने काम भएको छ’ सेक्रेटरी शर्माले भने, ‘माडी र पिप्लेमा भएका घटना राज्य आतङ्कका घटना हुन् ।
दोषीमाथि कारबाही हुनुपर्छ ।’ यस्तै कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य घनानाथ सापकोटाले न्याय क्षेत्रकै बद्नाम हुनेगरी श्रीमती हत्या गरी लास लाई टुक्रा टुक्रा पारी बोरामा राखी मकवानपुर ल्याई जलाउने अपराधी रंजन कोईरालालाई कैद मिनाहा गर्ने कार्यले पुरानो व्यवस्थाको असलियत उजागर भएको बताए।





















