चितवन / राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले कृषिजन्य वस्तुको लागि आवश्यक पर्ने रासायनिक मलको सहज आपुर्ति गरिदिन जिल्ला प्रशासन कार्यालय चितवनलाई माग गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय चितवनलाई ज्ञापन पत्र बुझाउँदै राप्रपाले धान, केरा, तरकारी तथा मकैका लागि रासायनीक मलको आवश्यक पर्ने समयमा मलको अभाव भएको भन्दै सहज आपुर्ति गरिदिन माग गरेको हो ।
‘चितवन जिल्लामा उत्पादन हुने धान, मकै तरकारी लगायतका कृषिजन्य वस्तुका लागि अत्यावश्यक युरिया मल लगायत अन्य रासायनिक मल सहजआपुर्ति नहुँदा किसानहरु धेरै मर्कामा परेका छन् ।
युरिया मलको सहज आपुर्ति तथा विरतणका लागि आवश्यक पहल गरिदिन प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ ।’ प्रमुख जिल्ला अधिकारीलाई बुझाईको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
साथै राप्रपा अध्यक्ष रुद्रप्रसाद ढकालले हस्तारक्षर गरिएको ज्ञापन पत्रमा बर्षाका कारण चितवन जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरोले धनजनको क्षति पुर्याएकाले राहत उपलब्ध गराउन माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले रासायनिक मलको सहज आपुर्तिका लागि पहल गर्ने बताउनुभयो ।
ज्ञापन पत्र बुझाउनका लागि राप्रपाका नेता कार्यकर्ता जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।





















