गोरखा – गोरखाको लिगलिगकोटमा २०७९ चैत ४ गते शनिबार तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । गोरखा पालुङटार नगरपालिका २ स्थित लिगलिगकोटमा सो प्रतियोगिता हुने भएको हो ।
लिगलिग भिलेज स्पोर्टसद्धारा आयोजित साइकल दौड प्रतियोगितामा सहभाहागी हुनेले लिगलिगकोटबाट शुरु भएर आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, बयापानी, मकुनडाँडा, थापागाउँ, आँपपिपल अस्पताल, पाथीभरा, गुन्टार, मिर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गरमवेशी, घर्तीगाउँ, ठूलो वगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्र्के, हात्तीगौडा, लुइटेल, बड्डाडा हुदै मैभलबाट लिगलिगकोटसम्मको ५३ किलोमिटर पार गर्नु पर्ने आयोजक लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष विनोद श्रेष्ठले बताए । ।
आगामी चैत ४ गते हुने प्रतियोगितामा पहिलो हुनेले नगद ७५ हजार, मेडल, प्रमाणपत्र, दोस्रो हुनेले नगद ५० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद ३० हजार, मेडल र प्रमाणपत्र, चौथो हुनेले नगद १५ हजार नगद, मेडल, प्रमाणपत्र र पाचौ हुनेले ७ हजार ५ सय रुपैया, मेडल र प्रमाणपत्र पाउने आयोजक लिगलिग भिलेज स्पोर्टसका कोषाध्यक्ष विजय पाण्डेले बताए ।
प्रतियोगितामा एक सय भन्दा वढी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । सो साइकल दौड प्रतियोगिता नेपालकै ठूलो प्रतियोगिता हुने लिगलिग भिलेज स्पोर्टसका निवर्तमान अध्यक्ष सञ्जिव रानाले बताए ।
प्रतियोगिताको प्रायोजक लागी पालुङटार नगरपालिका, गोरखा नगरपालिका, पर्यटन बोर्ड रहेको छ भने सहप्रायोजक गण्डकी प्रदेश, सिरानचोक गाउँपालिका, राइनास नगरपालिका लगायत रहेको आयोजकले जनाएको छ ।
दिउँसो विविध साँस्कृतिक कार्यक्रम राखिएको छ । जस अन्तर्गत, लोकदोहोरी गीत प्रतियोगिता, बालन, चुटका, लाखेनाच, राष्ट्रिय चर्चित कलाकारहरुको बेजोड सांगेतिक प्रस्तुती रहने लिगलिग भिलेज स्पोर्टसका सचिव प्रमिला गुरुङ रानाले जानकारी दिइन ।
तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता ३० लाख अनुमानित बजेट लाग्ने लिगलिग भिलेज स्पोर्टसका कोषाध्यक्ष विजय पाण्डेले बताए ।





















