काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गरेका छन्।
उनले नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा औषधिजन्य जडीबुटी उपलब्धताका हिसाबले महत्त्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै मुलुकको गौरवका रूपमा स्थापित वैद्यखानालाई थप गति दिने विश्वास दिलाएका हुन्।
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको आयुर्वेद चिकित्सालाई थप विस्तार गरिने जानकारी दिए।
उनले अतिआवश्यक जडीबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गरिने स्पष्ट पारे। उनले भने, ‘सरकारका तर्फबाट राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्णरूपमा क्रियाशील बनाई नेपालका रैथाने जडीबुटीको अध्ययन-अनुसन्धानलाई द्रुतगतिमा अगाडि बढाउन आवश्यक नीतिगत निर्णय गरिनेछ।’
प्रधानमन्त्री प्रचण्डले सात वटै प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति अगाडि सारिएको जानकारी दिए। उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवर्द्धन गर्ने सरकारको योजना रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले आयुर्वेद औषधिको उत्पादनका लागि अतिआवश्यक जडीबुटीको निकासी पैठारीमा रहेको व्यवधानहरू हटाउन नीतिगत निर्णय गरिने उल्लेख गरे। विश्व समुदायलाई स्वस्थ राख्न नेपालले बहुमूल्य जडीबुटी निर्यात गर्न सक्ने गरी वातावरण तय गरिने बताए।
प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट जडीबुटी खेतीका लागि अनुदानका लागि आवश्यक प्रबन्ध गरिने विश्वास दिलाए।
नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको जनाउँदै उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण परिरहेका समस्यालाई न्यूनीकरण गर्न आवश्यक रहेकामा जोड दिए।
आयुर्वेदका लागि नेपालमा रहेका वनस्पति जोगाइराख्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए। नेपालमा पाइने यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसीलगायतका अति महत्त्वपूर्ण वनस्पतिको थप अध्ययन र अनुसन्धान हुनु आवश्यक रहेको उनको भनाइ छ।
स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गर्न आयुर्वेद, पञ्चकर्म, योग, ध्यान कार्यक्रम सञ्चालन गर्न अस्पताल, उपचार केन्द्र, वेलनेस सेन्टर स्थापना गर्ने प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्रीले त्यसका लागि नीतिगत निर्णय भइसकेको जानकारी दिए। सात वटै प्रदेशमा एक सय शय्याको आयुर्वेद अस्पताल सातै प्रदेशमा सञ्चालनमा ल्याउने उनको भनाइ छ।
भारत सरकारले उच्च प्राथमिकतामा राखेको आयुर्वेद अनुसन्धानको कार्यलाई नेपालमा पनि निरन्तरता दिन त्यहाँको आयुष मन्त्रालयसँग सहकार्य गरिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
महर्षि वैदिक फाउन्डेसन, अन्तर्राष्ट्रिय महर्षि फाउन्डेनसन र अन्य आयुर्वेदसम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको आयोजना गरिएको नेपाल आयुर्वेद चिकित्सक संघका महासचिव डा कोपिला अधिकारीले जानकारी दिइन्।
सम्मेलनको मूल नारा ‘सम्पूर्ण स्वास्थ्यका लागि आयुर्वेद’ रहेको छ। आयुर्वेदको उद्गमस्थलका रूपमा रहेको नेपालमा आयोजित यस सम्मेलनमा ५० भन्दा बढी देशका आयुर्वेद विज्ञ, अनुसन्धानकर्ता, उद्योगी, चिकित्सकलगायत पाँच सय बढीको सहभागिता छ।
आयुर्वेदको प्रचार-प्रसारमा सहयोग पुर्याउने र स्वास्थ्य पर्यटनमा टेवा पुर्याउने लक्ष्यका साथ सुरु भएको सम्मेलनमा चिकित्सकका अलावा विद्यार्थी, प्राध्यापक, उत्पादक, व्यवसायीलगायतको सहभागिता छ।





















