चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले १० वर्षे जनयुद्धको बलमा ल्याइएको संघीयताकै कारण मगरका छोरा छोरी सम्मानित पदमा पुगेको बताएकी छन्।
४१ औँ मगर दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको कार्यक्रममा उनले देशको व्यवस्था परिवर्तन भएकै कारण जनजाति, मधेसी, उत्पीडित वर्गलाई राज्यको सम्मानित पदमा पुराएको उल्लेख गरिन्।
मेयर दाहालले विगतमा मगरका सन्तानहरू देशको एउटा मन्त्री बन्ने कुरा निकै कठिन कुरा भएको स्मरण गरिन्। वर्षैदेखि थिचिएका, हेपिएका, अन्याय, अत्याचारमा परेका समुदाय, आदिवासी जनजातिहरूले आफ्नो समुदायको पूर्ण अधिकारका लागि निरन्तर आन्दोलन र संघर्ष गर्नुपर्नेमा जोड दिइन्।
‘मगरकै छोरा अहिले उपराष्ट्रपति सम्माननीय पदमा हुनुहुन्छ,’ उनले भनिन्, ‘मगरकै छोरी देशको गरिमामय पद सभामुख पदमा हुनुहुन्थ्यो।’
संघीय गणतन्त्रको स्थापनपछि आधा-दर्जन मगरका सन्तानले विभिन्न निकायको बागडोर सम्हालेको बताइन्। मेयर दाहालले संघीयताले केही न केही जागरूक बनाएको छ भने केही न केही अधिकारहरू प्राप्त गरेको धारणा राखिन्। यो नयाँ परिवर्तित व्यवस्थाका कारण हर्षोल्लास र निर्वाध रुपमा दिवसहरू मनाउन पाइएको बताइन्।
देशमा भएको परिवर्तनले केही न केही मुद्दाहरू स्थापित भएका छन् भने बाँकी कार्यान्वयनको चरणमा रहेकाले हाम्रा आवाजहरूलाई बुलन्द पार्नुपर्ने मेयर दाहालको भनाई थियो। ‘हिजोका विरोधहरू अहिले पनि विषबमन गरिरहेका छन्,’ उनले भनिन्, ‘हामी उत्पीडितहरूलाई थिचोमिचो गर्न खोजिरहेका छन्।
ठूलो बलिदानी पछि ल्याएको व्यवस्थाविरुद्ध धावा बालिरहेका छन्। यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो। अझै संगठित भएर अगाडि बढ्ने समय आएको छ।’
मेयर दाहालले भरतपुर महानगरपालिकाको हरेक वडामा मगरहरूको प्रतिनिधित्व ठूलै संख्यामा हुँदै आइरहेको जानकारी दिइन्।
नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा भरतपुरको वडा नम्बर-१७ भुवनवस्ती लखन स्मृति सभाहल निर्माण भई स्तरोन्नति भएको बताइन्।
महानगरपालिकाले वर्षेनि मगर संघका लागि आर्थिक सहयोग हुँदै आएको भन्दै अबका दिनमा पनि सहयोग हुने प्रतिबद्धता व्यक्त गरिन्।





















