चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पत्रकारितालाई थप डिजिट गर्नुपर्ने बताएकी छन्। प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुरको विशेष साधारणसभा तथा वनभोज कार्यक्रममा उनले सञ्चार माध्यमहरूले नयाँ ढंगबाट समाचार तथा सूचना सम्प्रेषण गर्नुपर्ने जोड दिइन्।
अहिलेको आवश्यकता र समय सापेक्ष पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्ने देखिएको उनको भनाई छ। मेयर दाहालले खोजमूलक, तथ्यपरक तथा निष्पक्ष पत्रकारिताको अभ्यास गर्दै जानु पत्रकारको जिम्मेवारी, दायित्व र अभिभारा भएको भन्दै उनले पत्रकारितालाई थप स्मार्ट बनाउनुपर्ने धारणा राखिन्।

भरतपुर महानगरपालिकाको बारेमा सकारात्मक धेरै र रचनात्मक दुवै प्रकारका समाचारहरू सम्प्रेषण हुने गरेकाले सही दिशामा महानगरपालिका अगाडि बढेको उनको भनाई थियो। ‘राम्रो मात्र भन्नुस्, भन्दिन म,’ उनले भनिन्, ‘राम्रो त राम्रो भई हाल्यो। नराम्रा छन् भने खबरदारी गर्नुस्।’
मेयर दाहालले प्रेस सेन्टरको स्थापना निकै संघर्षशील, कठिन समयका बाबजुद डोको डालोबाट सूचना प्रवाह गरी सुरुवात भएको औँल्याइन्। व्यवस्था परिवर्तन गर्न प्रेस सेन्टरले विगतमा खेलेको भूमिकाको उच्च प्रशंसा गरिन्। उनले चितवनका सबै प्रेस सम्बद्ध संस्थाहरूलाई समान ढंगबाट भरतपुर महानगरपालिका स्थानीय सरकारले प्रवर्द्धन गर्दै आइरहेको बताइन्।

स्थानीय सरकारले यहाँका श्रमजीवी पत्रकारका लागि लोककल्याणकारी विज्ञापन, जेष्ठ पत्रकारलाई पेन्सनका लागि २० लाखको कोष स्थापना, लेखन वृत्तिका लागि १५ लाख रुपैयाँ, पत्रकार महासंघको तालिम हलको लागि जग्गाको व्यवस्था तथा विभिन्न अवलोकन भ्रमणका लागि बजेट विनियोजन गर्दै आएको जानकारी दिइन्। कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, प्रदेश सांसदहरू ठाकुर ढकाल, ईश्वर सापकोटा ‘सुमन’, नेकपा माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, पत्रकार महासंघका सचिव सृजना अर्याल, पत्रकार महासंघका चितवन अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आर्चाय लगायतले शुभकामना मन्तव्य राखेका थिए।

साथै, प्रेस सेन्टर नेपाल चितवन शाखाले पत्रकारिता क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ। प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सचिव शान्ता अधिकारी, केन्द्रीय सदस्य प्रकाशमणि ज्ञवाली, सन्तोष देउजा, अग्रज पत्रकार चिन्तामणि पौडेल, बागमती प्रदेशका सचिव सुमन गैरे, प्रेस सेन्टरका बागमती प्रदेश अनुशासन अयोगका सदस्य गोपाल परियार, बागमती प्रदेशका सदस्य प्रविन बराल, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कोषाध्यक्ष संगिता भट्टराई तथा प्रेस सेन्टरका पूर्व उपाध्यक्ष वीरबहादुर सिंजालीलाई सम्मान गरिएको थियो।





















