काठमाडौं। मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ। शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिइन्।
सोही दिन अपराह्न ४ बजेभित्र मनोनयपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ भने फागुन २५ गते १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ।
नेपालको संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ। संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ। मुलुकमा २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास हुँदै आएको छ। नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ। राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ।
राष्ट्रपति निर्वाचनको मतदाताको संख्या संघीय संसद्को तीन सय ३१ र सातै प्रदेशका प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८१ कायम छ। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ। संघीय संसद् र प्रदेशसभा सदस्यको मतभार फरक हुने भएकाले सो व्यवस्था गरिएको हो। धारा ६२ (१) मा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मतभार संघीय कानुनबमोजिम फरक फरक हुने उल्लेखित छ।
संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ। कूल जनसंख्या (पछिल्लो राष्ट्रिय जनगणनाअनुसार) लाई संघीय संसद्का सदस्यको कूल संख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर संघीय संसद्का सदस्यको मतभार निकालिन्छ। कूल जनसंख्या (पछिल्लो राष्ट्रिय जनगणनाअनुसार) लाई प्रदेशसभा सदस्यको कूल संख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर प्रदेशसभाका सदस्यको मतभार निकालिन्छ।
राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ। निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ। त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ। त्यस्तो मतदानमा कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन्।
बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ। त्यस्तो मतदानमा खसेको कूल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ। संविधानको धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद रिक्त हुने व्यवस्था छ।
संघीय संसद्का सदस्यको कूल मतभार २६ हजार एक सय ४९ र प्रदेशसभा सदस्यको कूल मतभार २६ हजार ४०० हुन आउँछ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ। संघीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन्। राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ।
संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख छ। राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ।
नेपालमा राष्ट्रपतिको पहिलो निर्वाचन विसं २०६५ साउन ४ गते भएको थियो। उक्त निर्वाचनमा तत्काल कायम संविधानसभाका पाँच सय ९४ सदस्य मतदाता भए तापनि केही राजनीतिक दलले निर्वाचनमा भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरेका थिए। उक्त निर्वाचनमा डा रामवरण यादवले दुई सय ८३ र रामराजाप्रसाद सिंहले दुई सय ७० मत मत प्राप्त गरे। प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो। दोस्रो चरणमा यादवले तीन सय आठ र सिंहले दुई सय ८२ मत प्राप्त गरेका थिए। यादव बहुमत प्राप्त गरी नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए।
राष्ट्रपतिको पछिल्लो विसं २०७४ मा भएको निर्वाचनमा संघीय संसद्का तीन सय २६ र प्रदेशसभा सदस्य पाँच सय ३६ जनाले मतदान गरेका थिए। उक्त निर्वाचनमा विद्यादेवी भण्डारीले ३९ हजार २७५ र कुमारीलक्ष्मी राईलाई ११ हजार ७३० मतभार प्राप्त गरेकी थिइन्। पहिलो चरणमा नै बहुमत प्राप्त गरी भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। -रासस( नारायण न्यौपाने/अशोक घिमिरे)





















