काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताएर कम्युनिस्ट एक गर्न गृह कार्य सुरु भएको छ। विगतमा प्राविधिक कारणले विघटित नेकपालाई ब्युँताउनु पर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्।
प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सोही प्रस्ताव गरेका हुन्। नेपालले समेत सोही प्रस्तावलाई सकारात्मक रुपमा लिएको एकीकृत समाजवादी स्रोत बताउँछ।
स्रोतका अनुसार प्रधामन्त्री प्रचण्डले ‘नेकपा ब्युँताएर जाऔँ, तपाईं राष्ट्रपति हुनुहोस्, म प्रधानमन्त्री छँदैछु, पछि केपीजी प्रधानमन्त्री हुनुहुन्छ,’ भनेका थिए। नेकपा ब्युँताउने प्रयत्नमा नेपालले एमाले नेतालाई समेत गरेका थिए।
प्रचण्डको उक्त प्रस्तावको विषयमा माधव नेपाल पनि सकारात्मक रहेको बताएका थिए। उक्त सन्देश नेपालले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुर्याइसकेका छन्। यस विषयमा ओली मौन छन्।
यही प्रस्ताव जनता समाजवादी (जसपा)लाई गरिएको छ। जसपाले भने उपराष्ट्रपतिको अडान छाडेको छैन। यही गृहकार्यले आज पाँच दलीय गठबन्धनको बैठक पनि आज बस्न सकेन। भोलि बिहानै सरेको छ।
सोही प्रस्तावमा प्रचण्डले अढाइ वर्ष सरकार चलाउने र बाँकी रहेको दुई वर्ष ओलीले सरकार चलाउने छ। जुन सहमति पुस १० मा प्रचण्ड र ओलीबीच भएको थियो।





















