काठमाडौं / अबदेखि सरकारी चिकित्सकहरूले निजि अस्पताल तथा निजी क्लिनिकमा काम गर्न नपाउने भएका छन् । सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले आफू कार्यरत दरबन्दी लिएको सरकारी अस्पतालमा भन्दा निजी अस्पताला तथा निजी क्लिनिकमा बढी समय दिन काम गर्न थालेको जनगुनासो धेरै आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
यस्तै गरि अब सरकारी चिकित्सकहरूले कुनै पनि निजी स्वास्थ्य संस्थामा आफू काम गरेको अस्पताल वा संस्थाको नाम निजी क्लिनिकमा लेख्न पनि नपाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले साउन ९ गते मन्त्री स्तरीय निर्णय गर्दै अब देखि कुनै पनि सरकारी अस्पताल, प्रतिष्ठानहरूमा कार्यरत रहेका चिकित्सकहरूले निजी अस्पतालमा काम गर्न नपाउने निर्णय गरेका हुन् । मन्त्रालयले सो निर्णय गर्दै देशैभरिका सम्पूर्ण सरकारी अस्पताल तथा प्रतिस्ठानहरूलाई परिपत्र समेत गरिसकेको छ ।
मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ, ‘यस मन्त्रालय अन्तर्गतका विभाग, केन्द्र, प्रतिष्ठान र संघ प्रदेश स्थानीय र केन्द्रीय तहका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा समेत संस्थाको प्रमुख र कार्यकारी जिम्मेवारी रहेकाहरूले निजी प्राक्टिस नगर्ने र यदि यसभन्दा अगाडि गर्दै आएका पूर्व स्वीकृत लिएको भए अब सबै स्वत खारेज हुनेछ ।
























