काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको राजनीतिक कोर्स बदलिने अवस्थामा पुगेको दाबी गरेका छन्। तर, राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्ने उनले बताए।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको दोस्रो स्थायी कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष नेपालले भने, ‘सबै पद लिन खोजेर नेपाली राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने प्रवृत्ति हाबी हुने हो कि! होइन, त्यस्तो गर्न पाइँदैन, सन्तुलनको राजनीति अपनाएर मात्रै जानुपर्छ भन्ने मान्यता हाबी हुने ? त्यसको फैसला महिना दिन भित्रमा सम्भवतः भइसक्छ। त्यसका निम्ति हामी तयार रहौँ।’
उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीमा काँग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि उल्लेख गरे। अध्यक्ष नेपालले भने, ‘ढोक्सा थाप्ने भनेको त्यही हो। त्यताबाट आएपछि यता यिनीहरूले जोगाउँछन् कि भन्ने छ।’ सत्ता गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षधर सबै खाले शक्ति भएका कारण उक्त गठबन्धन लामो नटिक्ने उनको दाबी छ।
वामपन्थी दलभित्र मण्डलेहरू रहिरहनु कम्युनिष्ट पार्टीका निम्ति लाजमर्दो विषय भएको पनि उनले टिप्पाणी छ। नेपालले भने, ‘अहिले फेरि मण्डलेहरू जाग्न थालेको छ। मेचीको पुलमा उभिएर गरेको कुरा देख्नुभयो तपाईंहरूले। मण्डलेहरूको रोग एमालेभित्र घुसेको छ। त्यहीबाट एमाले केन्द्रीय सदस्य अझै पनि छन् कि कारबाही गरिसक्यो थाहा छैन। एमालेमा सम्मानपूर्वक बसिरहेकै छ। त्यो भनेको चाहिँ कम्युनिष्ट पार्टीका निम्ति लाजमर्दो कुरा हो।’





















