चितवन – कालिका एफ.एम र कालिका एचडिको आयोजनामा आयोजित भजन महोत्सव सकिएको छ । हिन्दुधर्मालम्बीहरुको महानपर्व महाशिरात्रीको अवसर पारेर भरतपुर १०मा रहेको महाकालेश्वर शिव मन्दिरमा भजन महोत्सव सुरु थियो ।
कोरोना महामारीका कारण केही बर्ष रोकिएको भजन महोत्सव यस बर्षबाट फेरी सुरु भएको हो । महोत्सवको उद्घाटन आचार्य नारायण प्रसाद पोख्रेलले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले धर्म संस्कृतिको संरक्षण गर्नुपर्ने धारणा राख्नु भएको छ ।
उहाँले भगवान शिवको महिमाको बारेमा जानकारी गराउनुभएको थियो । चितवन, नवलपुर, धादिङ, गोर्खा लगायतका ठाउँबाट भजन महोत्सवमा सहभागि भएका छन् । यस्तै भजन महोत्सवमा भजन प्रतियोगिता समेत भएको थियो ।
कालिका एफ.एम र कालिका एचडिको आयोजनामा आयोजित भजन महोत्सव प्रतियोगितामा इच्छाकामना माई समूह प्रथम भएको छ । हिन्दुधर्मालम्बीहरुको महानपर्व महाशिरात्रीको अवसरमा आयोजित प्रतियोगितामा सहभागि समुहलाई पछाडि पार्दै राप्ती नगरपालिका २ राप्ती दुई कैलाशपुरीको इच्छाकामना माई समूह प्रथम भएको हो । प्रथम भएको यस समुहले २५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ ।
उसले एक सय पुर्णाङ्कमा ८१ अंक प्राप्त गरेको थियो । त्यस्तै ८० अंक प्राप्त गर्दै शिवनगरको शिवनगर भजन समुह द्धितीय भएको छ । उसले २० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ । देवघाटको श्रीराम जानकी कालिका आश्रम तृतीय र रमाईलो भजन समुहले सान्तोना स्थान प्राप्त गरेको छ । उनीहरुले क्रमशः १५ र ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
महोत्सव सञ्चालनका लागि मन्दिर व्यवस्थापन समिति र टोल सुधार समितिको सहयोग रहेको छ । शिवरात्रीको दिन महाकालेश्वर मन्दिरमा विगतमा जस्तै शिव पुजा, रुद्री, धुनी तथा बत्ती बालिएको थियो । दिउँसो मन्दिरमा भक्तजनको भिड लागेको थियो । महोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको छ । कालिका एफ.एमका निर्देशक दिपक पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रेम निधी भारद्वाज, माइती नेपालका संयोजक इश्वर गिरी लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।





















