दिपायल। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अधुरा योजनाहरू सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। आयोजना अलपत्र पर्दा सरकार टुलुटुलु हेरेर नबस्ने उनले प्रष्ट पारे।
चेम्बर अफ कमर्सले आज डोटीमा आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै उनले टेण्डर भएर समयमै काम सम्पन्न नभएका अधुरा आयोजनाहरूको काम सम्पन्न गर्न निर्देशन दिए। टेण्डर बिट गर्ने, काम गरेजस्तो मात्रै गर्ने, वर्षौंसम्म राज्य र जनतालाई नोक्सानी गर्ने ठेकेदार र कम्पनीलाई छुट दिन नसकिने उनले बताए।
विश्वसनीय ढंगबाट सम्झौताअनुरूपको काम हुन्छ भने मात्रै म्याद थप गरेर काम गर्न अनुमति दिने उनले बताए। ‘निर्माण कम्पनीलाई हामीले तुरुन्तै काम गर्न निर्देशन दिएका छौँ,’ मन्त्री श्रेष्ठले भने, ‘समयमै सम्झौताअनुरूपको काम गर्ने अवस्था रहेन भने ठेक्का रद्द गरेर नयाँ ढंगबाट आयोजनाको काम अगाडि बढाउँछौं। निर्माण कम्पनीले आयोजना अलपत्र पारेको टुलुटुलु हेर्न सकिँदैन।’
डोटीका राजनीतिक दलहरूले उपप्रधानमन्त्री श्रेष्ठसँग धनगढी-खुटिया-दिपायल द्रुत मार्गसँगै अधुरा योजनाहरू समयमै सम्पन्न गरिनु पर्ने माग राखे। उपप्रधानमन्त्री श्रेष्ठले धनगढी-खुटिया-दिपायल द्रुतमार्गको कामलाई पूर्णता दिन आवश्यक पहल गरिने बताए।
तीन तहका सरकारसँगको समन्वयमा आयोजनाको प्राथमिकिकरण निर्धारण गरेर स्रोतसाधनको सीमाभित्र रही विकास निर्माणका काम अगाडि बढाउने प्रतिबद्धता उनले गरे। सेती लोकमार्ग निर्माण र पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जको विकासका लागि समेत गम्भीर रहेको उनले बताए।





















