चितवन – नेपाल एउटा मात्र उत्पादनमा आत्मनिर्भर छ, त्यो हो पोल्ट्री उत्पादन । तर, पोल्ट्री व्यवसायले लामो समयदेखि समस्या भोग्दै आएको छ । कुखुराको दाना तथा औषधिमा अनियन्त्रित रुपमा बढेको मूल्यले पोल्ट्री व्यवसायमा थप समस्या सिर्जना भएको छ ।
पोल्ट्री व्यवसायका समस्या समधानका लागि नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेल र नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी व्यवसायका समस्याबारे जानकारी गराएका छन् ।
पछिल्लो समय टाट पल्टिने अवस्थानमा रहेको पोल्ट्री व्यवसायमा विश्वव्यापी रुपमा समस्या बनेको कोभिड–१९, रसिया–युक्रेन युद्ध र नेपाल राष्ट्र वैंकको लगानी नितीले थप अप्ठेरो स्थिति सिर्जना भएको प्रधानमन्त्रीसक्ष पेस गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा व्यवसायीले कुकुराको दानाका कच्चापदार्थमध्ये मकै करिब ६० प्रतिशत र भटमास शतप्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको र ती वस्तुहरुमा उच्च दरमा कृषि सुधार तथा भन्सार शुल्क लगाइएकोमा त्यसको पूर्ण छुट हुनुपर्ने माग गरिएको छ ।
पोल्ट्री उद्योगमा विद्युत खपत उच्च मात्रामा हु्ने भएकोले विद्युत् महसुलमा अन्य कृषि क्षेत्रसरह ५० प्रतिशत छुटको माग गरिएको छ । बैँकहरुले लगाएको उच्च ब्याजदर, हटाइएको पुनः कर्जाको व्यवस्थाले पोल्ट्री व्यवसाय थप संकटमा परेकोले व्यवसायीहरु पलायन हुने अवस्था आएको र यसबाट हजारौँ रोजगारी गुम्ने अवस्था आएकोले त्यसतर्फ विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
भारतबाट स्वीट कर्न र फिंगर फ्राइज आयातका नाममा कन्टेनरभित्र कुखुराको मासु पनि आयात हुने गरेको पाइएकोले अवैध आयातलाई रोक्न विशेष पहल गरिनुपर्ने र पशु क्वारेन्टाइन चेकपोष्ट २४सै घण्टा खुल्ला राखिनुपर्ने माग गरिएको छ ।
व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न र हजारौँको संख्यामा रोजगारी गुम्ने खतरा आउन नदिन ५ प्रतिशत ब्याजदरमा कर्जा तथा पुनः कर्जाको व्यवस्था गर्न प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डलाई भेटेको व्यवसायीको उक्त टोलीले गृहसचिवलाई पनि भेटेको थियो ।





















