चितवन – चितवनको भरतपुर महानगरमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगरपालिका मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई चितवन भेट्रान फुटबल क्लब भरतपुर–७ ले आयोजना गरेको हो ।
प्रतियोगिताको शनिबार भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले एक समारोहका बीच उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दैै उपप्रमुख अधिकारीले खेललाई खेलको रुपमा मात्रै सीमित नगरी व्यवहारमा उतार्नु पर्नेमा जोड दिए ।

उनले खेलकुदको क्षेत्रमा भरतपुर महानगरपालिका अग्रणी स्थानमा रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रमा क्रियाशील व्यक्तिले यसको बढीभन्दा बढी फाइदा लिन अपिलसमेत गरे । भरतपुर महानगरपालिकाले विकास सँगसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले स्वस्थ्य जीवन जिउनका लागि अन्य क्रियाकलापहरु जस्तै खेलकुद एक महत्त्वपूर्ण अङ्ग भएको बताए ।

आगामी फागुन ४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतको कोलकत्तासहित नेपालबाट आयोजक चितवन भेट्रान निलो, चितवन भेट्रान रातो, अभिषेक चर्च भेट्रान रजहर, नागासोती भेट्रान क्लव हेटौँडा, सिमरा भेट्रान सिमराले सहभागिता जनाएको क्लवका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भूपू सैनिक जबई स्पोर्टिङ, एक्स महेन्द्र पुलिस क्लव, बगरभाइ खलक भेट्रान, हेटौँडा भेट्रान, फ्रेण्ड्स भेट्रान, दरबार भेट्रान नुवाकोट र थापागाउँ सुधार समिति सहभागी हुने क्लबले जनाएको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहका शीर्ष टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैयाँ र उपविजेताले ७५ हजार पाँच सय रुपैयाँ नगर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही पाँच–पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी सहभागी हुने छन् ।
उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का अध्यक्ष परमेश्वर खनाल, चितवन सेवा सामाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समीर केसी, नारायणगढ लेडी जेसीजका अध्यक्ष सुस्मिता श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाललगायतले बोलेका थिए ।





















