चितवन। भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को ६ महिनामा कर संकलनमा कमी आएसँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल असन्तुष्ट बनेकी छन्।
आज बिहीबार भरतपुर महानगरपालिका सभाहलमा भएको आर्थिक वर्ष ०७९/०८० सालको कर अभियानको उद्घाटन गर्दै मेयर दाहालले राजस्व संकलनमा देखिएको कमीप्रति चिन्ता पनि व्यक्त गरिन्।
भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको लागि रु १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। तर, चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधीमा लक्ष्यको २७ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। महानगरपालिका हुनलाई न्युनतम रु १ अर्ब आन्तरिक आम्दान हुनुपर्ने कानुनी प्रवधान छ।
महानगरपालिको आन्तरिक आम्दानी हेर्दा भरतपुरको विकास निर्माणका लागि केन्द्र र प्रदेश सरकारको भर पर्नुपर्ने अवस्था छ। महानगरपालिकाले आफ्नो आन्तरिक आम्दान कमी भएपनि केन्द्र र प्रदेश सरकारको सहयोगमा अर्बौका आयोजनाहरु सञ्चालन गर्दै आएको छ।
महानगरपालिका प्रमुख दाहालले राजस्व संकलनको अवस्था हेर्दा न्युनतम रु १ अर्ब संकलन हुनेमा समेत आशंका व्यक्त गरिन्। भरतपुरको राजस्व संकलनको अवस्था निकै टिठ लाग्दो रहेको बताइन्।
करको दायारलाई फराकिलो पार्दै अभियानलाई तीब्र रुपमा अगाडि बढाएर महानगरको लक्ष्य पुरा गर्न राजस्व महाशाखालाई निर्देशनसमेत दिइन्। कर अभियानलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरिन्।
भरतपुरको सबैभन्दा बढी कर उठ्ने घरवाहाल करलाई थप प्रभावकारी बनाईने उनको भनाई थियो। अघिल्लो आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरबाट रु ७७ करोड प्राप्त भएको थियो। भने चालु आर्थिकको ६ महिनामा करिब रु ७ करोड मात्र प्राप्त भएको छ।
यसैबीच कर अभियान कार्यक्रममा राजस्व महाशाखा प्रमुख विसुराम कुँवरले आफनो घरको घरवाहल कर तिरेर अभियानको उद्घाटन गरिएको छ। घर बहाल करको रसिद महानगर प्रमुख दाहालले महाशाखा प्रमुख कुँवरलाई हस्तान्तरण गरेकी थिइन्।





















