भरतपुर । प्रेस सेन्टर नेपाल, चितवन शाखाले आफ्नो १९ औँ स्थापना दिवस मनाएको छ। भरतपुरको चौविसकोठीमा दीप प्रज्वलन गरी संगठनले स्थापना दिवस मनाएको हो।
सो अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं भरतपुर महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले श्रमजीवी पत्रकारहरूको हक हित र सुरक्षाका लागि संगठन क्रियाशील रहेको बताएका छन्।
उनले स्थापना दिवस आन्दोलनकै एउटा रूप भएको बताए। संगठनको गरिमामय इतिहासलाई स्थापित गर्न एकताबद्ध हुनुपर्नेमा उनको जोड थियो। संगठनले लिएका नीति र निर्देशन पालना गर्न समेत उपाध्यक्ष अधिकारीले आग्रह गरेका छन्।

कार्यक्रममा केन्द्रीय सचिव शान्ता अधिकारी, केन्द्रीय सदस्यद्वय प्रकाशमणि ज्ञवाली र सन्तोष देउजा, बागमती प्रदेश सचिव सन्तोष देवकोटा, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, अग्रज पत्रकार चिन्तामणि अधिकारी, सूर्य बराल, पश्चिम चितवन पत्रकार मञ्चका अध्यक्ष अनिल भट्टराई, प्रेस सेन्टर रत्ननगरका कार्यवाहक अध्यक्ष सन्तोष बस्ताकोटी, प्रेस सेन्टर राप्तीका अध्यक्ष गोपाल विश्वकर्मा लगायतको उपस्थित रहेको प्रेस सेन्टर नेपाल समन्वय समिति चितवन शाखाका सह सचिव नबिन बाबु मरहट्टाले जानकारी दिए ।

प्रेस सेन्टर नेपाल समन्वय समिति चितवन शाखाका उपाध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रवि अधिकारीले सञ्चालन गरेका थिए ।





















