धनुषा । धनुषाको जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि भएको हत्याको विरोध गर्दै मृतकका परिवार र आफन्तहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन् । १४ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं। १३ निवासी २२ वर्षीय विष्णु साहको अपहरणछि भारतमा हत्या भएको थियो ।
मृतकका आफन्त र स्थानीयहरुले आफूले मृत्यु हुनुभन्दा पहिला नै प्रहरीलाई खबर गरे पनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन् ।
घटनाको बारेमा बताउँदा समेत प्रहरीले बेवास्ता गरेको पीडित पक्षको आरोप छ। उनीहरूको शव फेला परेपछि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै आन्दोलन गरेका थिए।
मृतक दुवै जना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए । तर परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा गाउँमा उनीहरु दुवैको हत्या भएको थियो ।
गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेको आफन्तहरुले बताएका छन् ।
विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।





















