चितवन । पत्रकार हरिप्रसाद पोखरेलले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन् ।
प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्षसमेत रहेका पत्रकार पोखरेलले जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । संगठनका जिल्ला अध्यक्ष सुवास पण्डित मार्फत कोषका लागि सो रकम सहयोग गरेको पोखरेलले बताए ।
चौतारी चितवनले स्थापना गरेको कोषले पत्रकारहरुको हक, हित सुरक्षा र समस्यामा सानो भए पनि योगदान हुने ठानेर सहयोग गरेको पोखरेलले बताए । आफूले जन्माएको संगठनले सिर्जनात्मक र रचनात्मक उद्देश्य राखेर कोषको स्थापना गरेकोमा आफू खुसी भएको पोखरेलले बताए ।
चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरुलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रुपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे वापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर कोष स्थापना गरिएको हो ।





















