जनकपुर । अपहरणमा परेका धनुषाको जनकपुरधामका २ जना युवाको भारतमा हत्या भएको छ। उनीहरू १३ दिनदेखि सम्पर्कविहीन थिए।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको प्रहरीले जनाएको छ। युवकको सीमावर्ती भारतीय गाउँमा हत्या भएको छ ।
अनुसन्धानका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायका अनुसार दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको हो ।
५० लाख फिरौती रकम माग गर्दै परिवारलाई भारतीय नम्बरबाट फोन आएपछि उनीहरू अपहरणमा परेको आशंका गरिएको हो। उनीहरू अपहरणमा परेकोबारे गत पुस २९ गते परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए।
गए राति करिब २ बजे उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेको थियो। जमिनमा गाडेको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले बताएको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले धनुषाबाट २ जनालाई पक्राउ गरेको छ। भारतीय प्रहरीले पनि ३ जनालाई पक्राउ गरेको छ।
अपहरणकारीलाई विष्णुको परिवारले २० लाख दिन राजी भएका थिए। तर अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए।





















