टाउको दुख्नु नेपालमा मात्रै नभई विश्वभरका मानिसको आम स्वास्थ्य समस्या हो । यो समस्या एक/दुई दिनदेखि बर्सौंसम्म पनि देखिन सक्छ । विशेषज्ञहरूका अनुसार टाउको दुखाइ विशेषगरी दुई प्रकारका हुन्छन् ।
तीमध्ये ६९ प्रतिशत टाउको दुखाइ तनावको कारण हुन्छ भने १६ प्रतिशत माइग्रेनका कारण हुन्छ । न्युरो मनोचिकित्सक डा. प्रदीप पाण्डेका अनुसार यदि लामो समयदेखि टाउको दुख्ने समस्या छ सामान्य नदुख्ने औषधि खाँदा सन्चो हुने तर फेरि बल्झिरहन्छ भने त्यस्तो दुखाइको उपचार गर्नुपर्ने हुन्छ ।
त्यसैगरी टाउको दुख्ने समस्या छ तर, परीक्षण गर्दा सबै रिपोर्ट समान्य छ भने त्यो मानसिक समस्या हुन सक्छ । यस्तो टाउको दुखाइ तनावले गर्दा हुने टाउको दुखाइ, माइग्रेनले गर्दा हुने टाउको दुखाइ मात्र नभएर निराशापनले गर्दा पनि हुन सक्छ ।

तनावले गर्दा हुने टाउको दुखाइ कस्तो हुन्छ ?
सबैभन्दा धेरै मानिसलाई देखिने समस्या हो, तनावले गर्दा हुने टाउको दुखाइ । यस्तो समस्यामा बर्सौंदेखि टाउको दुखिरखेको, टाउको दुख्दा जतापनि दुख्न सक्ने, भारी भएजस्तो, थिचेजस्तो, गह्रौँ महसुस हुने, कसैलाई पोलेजस्तो, किरा हिँडेजस्तो महसुस हुने तथा चक्कर आउने हुन्छ ।
त्यस्तै, दिनभर विस्तारै दुखिरहने, काम गर्न सकिने तर दुख्न पनि नछोड्ने हुन्छ । यस्तो दुखाइ सामान्य औषधि खाएमा निको हुन्छ । तर यससँग मानसिक समस्या जोडिएको हुन सक्छ । जस्तै कुनै तनावको स्थिति, निद्रामा गडबडी या अरू कुनै लक्षण हुन सक्छन् ।
माइग्रोनको टाउको दुखाइ कसरी चिन्ने ?
माइग्रेनका कारण हुने टाउको दुखाइ अर्को एक जटिल समस्या हो । यस्तो दुखाइमा, एकपटकमा चार घण्टादेखि दुई दिनसम्म दुख्नसक्ने, बान्ता हुन खोज्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन् । कतिपयलाई कडा औषधि खानुपर्ने, सुईं लगाउनुपर्ने वा आराम गर्नैपर्ने हुन्छ । घामले, आवाजले टाउको दुखाइमा फरक पार्नसक्छ र कसैलाई हिँडडुल गर्नसमेत गाह्रो हुने, दुखाइ बढ्ने भएकाले घरभित्रै बसेर आराम गर्नुपर्ने, एक पाखा मात्र दुख्ने पनि हुनसक्छ ।
यी सबैखाले टाउको दुखाइको उपचार सम्भव भएकाले लक्षण देखिनासाथ चिकित्सकको परामर्श लिन डा. पाण्डेको सुझाव छ ।
कस्तो टाउको दुखाइमा सचेत हुने र तुरुन्त चिकित्सकलाई भेट्ने ?
१. धेरै जोडसँग दुखेमा,
२. पहिलो सहन नसक्ने दुखाइ,
३. दुखाइ झन नराम्रोसँग बढेमा,
४. जाँच गर्दा नसाको समस्या देखिएमा,
५. ज्वरो आएमा,
६. टाउको दुखेपछि उल्टी भएमा,
७. टाउको दुख्नाले निद्रा बिग्रेमा वा उठ्ने बित्तिकै दुखेमा,
८. ५५ वर्षभन्दा बढी उमेरको व्यक्तिलाई दुखेमा ।
एजेन्सीबाट





















