विराटनगरको कोसी अस्पतालले जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई काम गर्न रोक लगाएको छ । त्यस्तै उक्त घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ ।
बुधबार विहान श्वासप्रश्वासमा समस्या भएपछि इमरजेन्सी वार्डमा भर्ना गरिएकी १९ दिने शिशुलाई अस्पतालका मेडिकल अफिसर डा आकाश यादवले मृत घोषित गरेका थिए ।
चिकित्सकले मृृत घोषित गरेपछि आफन्तले शिशुलाई घर लिएर गएका थिए । अन्त्येष्टिको तयारी हुँदै गर्दा शिशुले शरीर चलाएपछि आफन्तले गोल्डेन अस्पताल विराटनगर भर्ना गरेका थिए । अहिले उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उपचारमा लापरवाही गरेको गुनासो आएपछि अस्पतालले छानबिनका लागि बालरोग विशेषज्ञ डा प्रविण झाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा अर्का बालरोग विशेषज्ञ डा सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल छन्।
अस्पतालका सूचना अधिकारीसमेत रहेका नेपालले छानबिन नसकिएसम्म उपचारमा संलग्न डा आकाश यादव, अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काममा रोक लगाइएको बताए ।





















