चितवन / संयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनले माडी र राप्तीमा घटेका घटनाहरुका दोषीलाई कारबाहीको माग गरेको छ ।
संघष समिति चितवनले आज एक विज्ञप्ति जारी गर्दै माडी नगरपालिका–९ कुसुमखोलामा निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले विसं २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङ परिवारको घरमा आगजनी र राप्तीमा गरेको कुटपिटबाट एक जना चेपाङ युवाको मृत्यु भएको घटनाको निन्दा र भत्र्सना गरेको छ ।
त्यसैगरी विज्ञप्तिमा पत्नी हत्याको अभियोगमा सर्वस्व सहित आजिवन जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी निरञ्जन कोइरालालाई सर्वाेच्च अदालतले सजाय घटाइ रिहा गरेकोमा त्यसको भत्सर्ना गरिएको छ ।
झण्डै दुईतिहाइ बहुमत प्राप्त स्थायी सरकार, शान्ति र समृद्धिको नारा बोकेको कम्युनिस्ट भन्न रुचाउने सरकारको काखबाट मुलुकभरी घटेका अपराधिक घटनाहरुलाई संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा पीडित चेपाङ परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग पनि गरिएको छ ।





















